काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले समयमा नै प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे विशेष अधिवेशनको माग गर्ने बताएका छन् ।
राष्ट्रिय कर्मचारी महासङ्घको १८ औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारले तत्काल प्रतिनिधिसभाको अधिवेशन आह्वान नगर्ने सूचना आफूले पाएको भन्दै समयमा नै अधिवेशन आह्वान नभए विशेष अधिवेशनको माग गर्ने बताए ।
उहाले जरुरी परे संसदको विशेष अधिवेशनबाट संघर्षको घोषणा गर्ने र सडकमा लाखौ जनतासंग मिलेर प्रतिक्रियाबादीबिरुद्ध लड्ने बताए । सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोहिलाई कारवाही गर्ने प्रक्रियाको थालनी गरेकै कारण आफू नेतृत्वको सरकारलाई हटाइएको उनले बताए ।
प्रचण्डले अहिले सरकारमा रहेका दलका नेताहरुको हातमा राजनीति नरहेको र उनीहरुको राजनीति विचौलिया र दलालहरूको हातमा छ भन्ने प्रष्टै देखिएको आरोप लगाए ।
बिचौलियाहरुले घुमाएर अहिलको सरकारमा रहेका नेताहरुलाई रातारात उठबस गराएको उनले बताए ।
उनले बिचौलियाहरुले संख्याको ताकत देखाएको भन्दै आफूहरुले जनताको ताकत देखाउने उल्लेख गरे । प्रचण्डले माओवादीको सकारात्मक पहल र ज्ञानेन्द्र शाहको नकारात्मक क्रियाकलापले मुलुकमा गणतन्त्र सम्भव भएको धारणा राखे ।
त्यस्तै उनले अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणाली देशका लागि हितकर नभएकाले परिवर्तन गर्नुपर्नेमा जोड दिए ।