चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व गृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई ज्यादती गरेमा संसदको विशेष अधिवेशन बोलाउने चेतावनी दिएका छन् ।
चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले दुई–दुई पटक अत्याधिक मतले जितेका रविलाई अहिले राजनीतिक प्रतिशोधले आतंकित पार्ने ढंगले मध्यरातमा प्रहरीबाट ज्यादती भएको सुन्नमा आएको बताउदैँ सो चेतावनी दिएका हुन् ।
सहकारी छानविनका नाममा सरकारले रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको उनको आरोप छ । साथै प्रचण्डले रविलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न माग समेत गरेका छन् ।
‘देशको चौथो पार्टीको नेता भागेर विदेश जाने स्थिति छैन । मैले सरकार र सरकारवादी नेताहरुलाई भनेको छु, किन हिरासतमा राख्नुपर्यो ?’, उनले भने, ‘छाडेर जेजे अनुसन्धान गरे पनि भइहाल्यो नि ! रविजीले अदालतलाई सघाउँछु भनिराख्नुभएकै छ । रवि लामिछानेसँग कांग्रेस र एमाले किन तर्सिनपर्यो । सरकारले यो विषयमा ज्यादती गर्दा भने संसदको विशेष अधिवेशन बोलाएर हामी त्यहाँबाट पनि विरोध जनाउँछौं ।’
कांग्रेस र एमालेका ठूला नेताहरु नै सहकारी ठगको रुपमा देखा परिसकेको उनले जनाए । । ‘उनीहरुले जालझेल गरेर सहकारी ठगी गरेपछि श्रीमतीलाई डिभोर्स दिइसकेको भन्दै सँगै बसेका कुराहरु हामीले देखिरहेका छौं । तिनै नाटकबाजहरुलाई नै बचाउन यो सरकार लागिपरेको छ’, उनले थपे ।
कांग्रेस र एमालेका नेताहरूले रविलार्इ ‘प्रधानमन्त्री भइदिनुस्’ भनेको आफैँले सुनेको प्रचण्डको दाबी छ । ‘कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव राखेकै हो । तर, त्यतिबेला अहिले म होइन प्रचण्ड नै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने मान्छे हो रवि लामिछाने,’ उनले भने ।