काठमाडौँ– कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित शनिवार किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ ।
बा ३५ प ५८१८ नम्बरको स्कुटर आएर हिजो दिउँसो करिब २ बजे चितवनको रत्ननगर नगरपालिका–१२ घर भइ बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।
आगलागीबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा आइतबार बिहान ५ः४५ बजे उनको मृत्यु भएको हो ।
प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी वीरेन्द्र गोद्दारका अनुसार घटनास्थल नजिकै ‘सुसाइड नोट’ पनि फेला परेको छ । ‘जसमा उनले आत्मदाह गर्नुको कारण कसैलाई दोष लगाएकी छैनन्’, गोद्दारले भने ।
सुसाइड नोटमा आचार्यले आफ्नै कारण श्रीमान र छोराहरूले दुखः पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उल्लेख गरेकी छिन् । ‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्न । श्रीमान् र छोराहरू खुसीसाथ बस्नू’ सुसाइड नोटमा उल्लेख गरिएको विषयबारे एक अनुसन्धान अधिकृतले भने ।
घटनास्थल नजिकै उनले कागमा सुसाइड नोट लेखर छाडेकी थिइन् । जसमा यो घटनाबारे आफ्ना श्रीमान्लाई समेत ‘जानकारी दिनू’ भन्दै मोबाइल नम्बर समेत लेखेको भेटिएको छ ।
१२ बजे पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकी ती महिला र उनका श्रीमान्बीच ११ः१२ बजेसम्म च्याटमा कुराकानी भएको भेटिएको छ । त्यसमा पनि उनले श्रीमान्लाई कुनै दोष लगाएकी छैनिन् ।
मृत महिलाका १३ र ३ वर्षका दुई छोराहरू छन् । केही समयदेखि कम बोल्ने र एकान्त मन पराउने गरेको उनका परिकारको सदस्यहरूले प्रहरीलाई बताएका छन् ।