काठमाडौँ – मलेसियामा जारी पहिलो संस्करणको एसीसी यू–१९ महिला एशिया कपमा नेपालले ऐतिहासिक जित हात पारेको छ । सोमबार भएको खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराउँदै सेमिफाइनल पुगेको हो ।


ADVERTISEMENT


पहिलो खेलमा भारतसँग हार व्यहोरेको पाकिस्तान दोस्रो खेलमा पनि पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ भने नेपाल पहिलो खेलमै जित निकाल्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।


ADVERTISEMENT

# # #


क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो ।

नेपालको जितका लागि कप्तान पूजा महतोले नटआउट ४७ रनको पारी खेलिन् । त्यसक्रममा उनले ४७ बलमा ३ चौका प्रहार गरिन् । यस्तै सोनी पाख्रिनले १३ रन बनाउँदा सीमा केसीले नटआउट १२ रन जोडिन् । साना प्रवीन १० रनमा आउट हुँदा साबित्री धामीले ८ रन बनाइन् ।

बलिङतर्फ पाकिस्तानकी फतिमा खान र कुरातुलेनले समान १–१ विकेट लिए । २ विकेट नेपालले रनआउटका रुपमा गुमायो ।

यसअघि ब्याटिङतर्फ पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ बनाइन् । उनले ४४ बलमा दुई चौका प्रहार गर्दै ३८ रन बनाएकी हुन् । यस्तै, महम अनिसले ‘नटआउट’ २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२ र फातिमा खानले नटआउट छ रन बनाइन् भने अरिशा अन्सारीले एक रन जोडिन् ।

बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २ विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले १–१ विकेट लिए । ६ राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले समूह चरणको अन्तिम खेल भोलि भारतसँग खेल्नेछ ।

समूह ‘बी’ श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् ।