काठमाडौँ – सुदूरपश्चिम रोयल्स काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ । बुधबार भएको क्वालिफायर्स–१ मा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिमले फाइनलको यात्रा तय गरेको हो ।
कीर्तिपुुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाउँदै जित हात पारेको हो ।
सुदूरपश्चिमको जितका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक नटआउट ५८ रन बनाए । उनले ५५ बलमा ३ चौका र ३ छक्क प्रहार गरे । यस्तै सइफ जैबले २१ बलमा ३ चौका र २ छक्केसहित ३२ रन बनाएर आउट भए भने ब्राण्डन म्याक्मुलनले २५ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा १ चौका र १ छक्कासहित नटआउट २० रन जोडे ।
यसअघि जनकपुरका लागि जेम्स निश्श्मले सर्वाधिक ४५ रन बनाए । उनले सो क्रममा उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै शुभ कंशाकारले २६ रन बनाउँदा लाहिरु मिलान्थाले १२, कप्तान आशिफ शेख र अरनिको यादवले समान ११–११ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए भने शेफ जैवले २ तथा अविनास बोहरा र स्टक कुग्लेगिनले समान १–१ विकेट हात पारे ।
लिग चरणमा अंक तालिकाको दोस्रो स्थानमा रहेको जनकपुरले फाइनल पुग्न अर्को मौका पाउनेछ । उसले बिहीबार दोस्रो क्वालिफायर्समा कर्णाली याक्ससँग खेल्नेछ । यसअघि आजै भएको प्लेअफमा कर्णालीले याक्सले चितवन राइनोजलाई हराउँदै क्वालिफायर्समा पुगेको थियो ।