काठमाडौं–कांग्रेसले राष्ट्रिय सभामा पूर्ववर्ती सरकारले गरेको सिफारिस कार्यान्वयन नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गरेको छ । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरुको शनिबार बसेको संयुक्त बैठकले राष्ट्रपतिले संविधानको उल्लंघन गरेको ठहर गरेको हो ।


ADVERTISEMENT


‘स्थानीय, प्रदेश, प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचन सम्पन्न गराउनेक्रममा साविकको सरकारमा अन्तरनिहीत अधिकार प्रयोग गर्दै राष्ट्रिय सभाका तीन सदस्यको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गर्नुभएन,’ बैठकपछि कांग्रेस नेता मीनबहादुर विश्वकर्माले कान्तिपुरसित भने, ‘संविधान संरक्षककोरुपमा रहनुभएका राष्ट्रपतिले संविधानको उल्लंघन भएकोमा बैठकले आपत्ति प्रकट गरेको छ ।’


ADVERTISEMENT

# # #


देउवा सरकारले गरेको सिफारिस ‘होल्ड’मा राखेकी राष्ट्रपतिले नयाँ सरकारको सिफारिसमा युवराज खतिवडा, विमला पौड्याल राई र रामनारायण बिडारीलाई राष्ट्रिय सभा सदस्य मनोनयन गरेकी थिइन् ।

बैठकले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले तीनै तहको निर्वाचन सम्पन्न गरेकोमा धन्यवाद दिएको विश्वकर्माले बताए ।

बैठकले कांग्रेस संसदीय दलको विधान अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ ।

बैठकमा सभापति देउवाले प्रमुख विपक्षीकोरुपमा रहेको पार्टीका सांसदहरुलाई संसदमा प्रस्तुत हुँदा सुझबुझपूर्ण आउन निर्देशन दिएका छन् । ‘निर्वाचन परिणामका बारेमा छलफल गर्न समीक्षामा बसौंला, लामो छलफल गरौंला,’ कांग्रेस संसदमा रचनात्मक प्रतिपक्षको भूमिकामा बस्ने बताउँदै देउवाले भने, ‘तपाईंहरु संसदमा आउँदा सुझबुझका साथ एकताबद्ध भएर आउनुस् ।’