काठमाडौँ – जन्मथलो सिन्धुपाल्चोकमै वर्ष २०५१ मा प्रवेशिका तहसम्मको अध्ययन पूरा गरेका आरएस भण्डारी उच्च शिक्षाका लागि काठमाडौँ आए । काठमाडौंमा टिक्न खर्च पनि आफैले जोहो गर्नुपर्ने । सात वर्ष जति उनले ‘मेडिकल इक्युप्मेन्ट ट्रेडिङ’मा जागिर गरे ।
काम गर्दै पढ्ने क्रममा उनमा एउटा सोच पलायो, जुन क्षेत्रसँग सम्बन्धित कार्यालयमा जागिर खाएको हो, त्यसैलाई व्यवसाय बनाउने । यसरी २०५८ जेठ १ गते उनले मेडिकल इक्यूप्मेन्ट व्यवसायमा पहिलो पाइला चाले । स्वास्थ्य उपकरण व्यवसायमा तरक्की हुँदै गयो । कर्मप्रतिको दृढता, लगन र मेहनतको प्रतिफल उनी सफल पनि हुँदै गए ।
स्वास्थ्य उपकरण व्यवसायसँगै डा. भण्डारीले अस्पताल स्थापनासमेत गरे । ह्याम्स अस्पतालको स्वामित्व ग्रहण गरे । हालै मात्र भक्तपुरको नागरिक अस्पताललाई पनि ह्याम्सकै स्तरमा उकास्ने तयारी भइरहेको छ । २०५८ देखि २०८१ सम्मको २३ वर्षे व्यावसायिक यात्रामा अब उनी कृषि र यातायात व्यवसायमा समेत प्रवेश गर्दैछन् ।
हिमालय पोष्टसँग उनले भने, ‘अब म ईभी गाडी सञ्चालनको तयारीमा छु । यसका लागि चीनबाट आइरहेका विद्युतीय गाडीहरुमा पनि अलिकति वर्कआउट गर्दैछु । यसरी म आफ्नो जीवन चलाईरहेको छु । पुरानो मेडिकल पेशालाई निरन्तरता दिइरहेको छु । यो मेरो ब्रेड एण्ड बटर नै भएको छ ।’
गृह जिल्लामा गतिलो अस्पताल
भण्डारीले आफू जन्मिएको जिल्ला सिन्धुपाल्चोकको खाँडीचौरमा वर्ष २०६५ मा एउटा अस्पताल स्थापना गरे । हुन पनि अरनिको राजमार्गले छोएको सो क्षेत्रमा सिन्धुपाल्चोक, दोलखा र रामेछापसम्म ठूलो अस्पताल थिएन । बिरामीले एक्सरे तथा सुगर टेस्टजस्ता सामान्य सेवाका लागि पनि धुलिखेल पुग्नुपर्ने बाध्यता थियो ।
चिकित्सा व्यवसायमा लागेको, चिकित्सक र अस्पतालसँग राम्रो सम्बन्ध भएको र स्थानीय पनि भएका नाताले गाउँलेले उनीसँगै यो समस्या राखे । एकपटक स्थानीय बुद्धिजीवि वर्गले उनी समक्ष राजमार्गले छोएको ठाउँमा आवश्यक पर्दा उपचार सेवासमेत नभएको भन्दै अस्पतालको आवश्यकता अवगत गराए ।
खाँडीचौरमा अस्पताल बन्यो । डा. भण्डारीकै नेतृत्वमा ४२ जनामार्फत अस्पताल सञ्चालन हुन थाल्यो । अकस्मात अस्पतालमाथि विपत्ति आइलाग्यो । सिन्धुपाल्चोकमा नेपालको इतिहासमै पहिलो पटक १५८ जना मान्छेलाई एकै चिहान बनाउने पहिरो गयो । पहिरो गएपछि नदीमा तलाउ बन्यो । त्यसको तीन किलोमिटर तल भोटेकोशी किनारमै अस्पताल थियो ।
स्वास्थ्य क्षेत्रमा मात्र होइन, भण्डारीले आफ्नो जिल्लाको कृषि विकासमा समेत योगदान दिने तयारी गरिरहेका छन् ।
पहिरोले बहाव अवरुद्ध पारेपछि नदीमा निर्मित तलाउ फुटेर अस्पतालसहित त्यहाँको बस्ती जुनसुकैबेला बगाउने खतरा थियो । रातारात सबै डाक्टरसहितको पूरै टिम भागाभाग भयो । अस्पताल पूरै खाली गरियो ।
महाविपत्ति त आउन बाँकी नै थियो । भुकम्पमा परी अस्पतालको भवन पुरै भत्कियो । डा. भण्डारीले आफ्नै लगानीमा नयाँ भवन बनाए । अहिले खाँडीचौर अस्पतालले सिन्धुपाल्चोक जिल्लाभरिमै जिल्ला अस्पताललेसमेत दिन नसकेको सेवा दिइरहेको छ ।
स्वास्थ्य क्षेत्रमा मात्र होइन, भण्डारीले आफ्नो जिल्लाको कृषि विकासमा समेत योगदान दिने तयारी गरिरहेका छन् । युवाशक्ति विदेशिएकाले पहाडका जमिनहरु बाँझै छन् । ती बाँझो जमिनको उपभोग गर्दै आधुनिक प्रविधिबाट कुखुरा पालन व्यवसाय थाल्ने उनको योजना छ । गुणस्तरीय ‘अटोमेशन’ प्रविधि भित्र्याएर आफ्नै जिल्ला र ठाउँबाट कृषिमा नयाँ प्रविधिको बहार ल्याउने र विदेशमा सिकेको सीप स्वदेशमै लगाउन युवालाई प्रेरित गर्ने उनको तयारी छ ।
इतिहास रच्दै ह्याम्स अस्पताल
आरएस भण्डारीको व्यावसायिक जीवनमा ह्याम्स अस्पतालले नयाँ मोड ल्यायो । २५ वर्ष पुरानो ह्याम्स अस्पतालले कुनैबेला राम्रै सेवा दिइरहेको थियो । पछिल्ला दिनमा अस्पताल अस्तव्यस्त थियो । २०७३ साउन १ मा भण्डारीले ‘टेक ओभर’ गर्दा ह्याम्स अस्पताल बन्द हुने अवस्थामा पुगिसकेको थियो ।
भण्डारी र उनको टिमले सञ्चालन गर्न थालेको केही समयमै ह्याम्स अस्पताल पुनः लयमा फर्कियो । यसले प्रभावकारी सेवा दिन थाल्यो । ७-८ वर्षकै अवधिमा र खासगरी कोभिड कालमासमेत यो उत्कृष्ट सेवा दिने अस्पतालमा गनिन पुगेको छ । मेडिकल कलेज र अस्पतालहरुको भीडमा ह्याम्सले आईपीओ अर्थात ‘कर्पाेरेट कल्चर सिस्टम’बाट अस्पताल व्यवस्थापन गरेर इतिहास नै रचेको भण्डारी सगर्व बताउँछन् ।
‘ह्याम्स अस्पतालले धितोपत्र बोर्डका सबै आवश्यकता तथा चरण अनुपालन गर्दै आईपीओका लागि निवेदन दिएको छ । ‘अन्य निजी कर्पाेरेट अस्पतालमध्येबाट आईपीओ जारी गर्ने ह्याम्स नै पहिलो कम्पनीको बन्न सफल भएको छ, जुन इतिहासमै पहिलो हो’, भण्डारी भन्छन् ।
गठ्ठाघरमा रहेको नागरिक अस्पतालमा भण्डारी पनि शेयर होल्डर थिए । अस्पताल अन्तिम अवस्थामा पुगेपछि ‘तपाईले नै लिड गर्नुपर्यो’ भन्ने प्रस्ताव उनीसँग राखियो, जसलाई उनले स्वीकारे ।
‘नागरिक अस्पताल’मा नयाँ आशा
उपत्यकाका तीन जिल्लामध्ये स्वास्थ्य सेवाका दृष्टिले भक्तपुरमा ठूलो अस्पताल छैन । ललितपुरमा सरकारी पाटन अस्पताल छ । निजी क्षेत्रका बिएण्ड बी, मेडिसिटी, सुमेरु, अल्कालगायत अस्पताल छन् । काठमाडौँमा सरकारीमा टिचिङ, वीर, गंगालाल, कान्ति अस्पताल छन् । निजी क्षेत्रमा नर्भिक, ओम, मेडिकेयर, ह्याम्स तथा ग्राण्डी लगायत छन् । कोटेश्वरबाट उता जाँदा सरकारी या निजी कुनै पनि क्षेत्रबाट यी स्तरका अस्पताल छैनन् ।
भक्तपुरमा आफ्नै भवनमा ह्याम्सकै हिसाबले संचालन गर्ने गरी प्रारम्भ भएको नागरिक अस्पताल कालान्तरमा विविध कारणले सफल हुन सकेन । गठ्ठाघरमा रहेको नागरिक अस्पतालमा भण्डारी पनि शेयर होल्डर थिए । अस्पताल अन्तिम अवस्थामा पुगेपछि ‘तपाईले नै लिड गर्नुपर्यो’ भन्ने प्रस्ताव उनीसँग राखियो, जसलाई उनले स्वीकारे ।
भक्तपुर आफैमा जनघनत्व भएको क्षेत्र । यो ठूला–ठूला राजमार्ग जोड्ने जिल्ला पनि हो । पूर्वी जिल्लाबाट काठमाडौँ आउनेहरुको पनि आगमन यसै क्षेत्रबाट हुन्छ । ट्राफिकको पनि उस्तै समस्या । भक्तपुरमा एक उत्कृष्ट अस्पतालको खाँचो रहेको महसुस गरेरै भण्डारीले नागरिक अस्पताललाई ह्याम्सकै आकार र व्यवस्थापनमा ‘सेकेन्ड ह्याम्स’ रुपमा स्थापना गर्ने तयारी भइरहेको छ ।
‘यसलाई म खुशीको खबर भन्छु । अस्पताल भनेको त्यस्तो ठाउँ हो, जहाँ पाँच मिनेट अगाडि मात्रै पुग्नुभयो भने पनि तपाईको ज्यान बच्छ । अन्यथा मृत्युवरणको अवस्था आउँछ । ट्याक्सीमा लैजादाँ लैजाँदै बिरामीको मृत्यु भएका कैयौं उदाहरण भक्तपुरमा छन् । मलाई यसले पनि भक्तपुरमा राम्रो अस्पताल स्थापना गर्न हौस्यायो’, डा. भण्डारी भन्छन् ।
स्वास्थ्य त्यस्तो क्षेत्र हो जहाँ सानो पहल र कोसिस मात्रले मान्छेको ज्यान जोगिन्छ । भण्डारीका विचारमा स्वास्थ्य सेवा मानवतासँग जोडिएको कर्म हो ।
कर्ममा लगन र इमानदारिता
भण्डारी अरुलाई गाली गरेर चोखो हुनेमध्येमा आफू नपर्ने बताउँछन् । आफ्नो कर्मले महत्व राख्ने उनको मान्यता छ । भन्छन्, ‘आफ्नो कर्मप्रति आफू कति दृढ र इमान्दार हुने भन्ने पक्ष ठूलो हो । राम्रो कर्म राम्रो गर्दागर्दै हुनसक्ने दुर्घटनालाई कसैले रोक्न सक्दैन । आफूले गर्नसक्ने कुरा आफै गर्ने हो । आफूले नसकेको र नसक्ने कुरामा धेरै चिन्ता गरेर म समय बर्बाद गर्न चाहन्नँ ।’
स्वास्थ्य त्यस्तो क्षेत्र हो जहाँ सानो पहल र कोसिस मात्रले मान्छेको ज्यान जोगिन्छ । भण्डारीका विचारमा स्वास्थ्य सेवा मानवतासँग जोडिएको कर्म हो । टिमको मेहनतबाट कसैको ज्यान बचाउन सकिन्छ भने त्योभन्दा ठूलो आनन्द अर्को हुँदैन । एउटा व्यापारीले गर्ने आर्थिक मुनाफाभन्दा ठूलो आनन्द ।
‘यो क्षेत्रमा अहिलेसम्म जे गरेँ, त्यसबाटै म आफूलाई भाग्यमानी ठान्छु । कोभिड कालमा हामीले निस्वार्थ भावले काम गर्यौं । हाम्रो कर्मप्रतिको यही इमानदारिताकै फल हो, ह्याम्स अस्पताल । चिकित्सक, व्यवस्थापन र सम्पूर्ण ह्याम्स टिमको मेहनत प्रतिफल हाम्रो सामु छ’, भण्डारी सगर्व भन्छन् ।
बिरामीलाई कसरी बचाउन सकिन्छ ? कमभन्दा कम खर्चमा कसरी रोग निको पार्न सकिन्छ ? कसरी उत्कृष्ट सेवा दिन सकिन्छ ? चिकित्सक या उसको टिमले यस्ता विषयमा ध्यान दिनु नै इमानदारिता भएको भण्डारीको ठम्याई छ । यस्ता विषयमा कहीँ कतै बदमासी नगरेकै कारण अहिलेसम्मको सफलता पाउन सकेको र ह्याम्सलाई सबैले माया गर्नु यसकै उपज भएको उनी बताउँछन् ।
‘यो पैसाले किन्नसक्ने सम्मान र आनन्द होइन । यसलाई पैसासँग तुलना गर्न मिल्दैन । इमान्दार भएर भन्नुपर्दा अहिले मलाई कामको पनि खाँचो छैन । दुईचार पैसाको पनि खाँचो छैन । हरेक हिसाबले ठिकै थियो नि त !’ उनले हिमालय पोष्टसँग भने, ‘म नागरिक अस्पतालमा जानुको कारण भनेकै साथीहरुको ममाथिको विश्वास हो र यही नै आम भक्तपुरवासीको पनि विश्वास हो ।’
उनी सगर्व भन्छन्, ‘देशविदेशमा हाम्रो इमान्दार कर्मको मूल्याङ्कन भएको छ । कर्म गर्ने मानिस निराश हुनु जरुरी छैन । इमान्दार ढंगले आफ्नो कर्मलाई निरन्तरात दिँदै जाँदा सार्थक परिणाम अवश्य आउनेछ ।’
निःस्वार्थ सेवाको निरन्तरता
नागरिक अस्पताल नयाँ ढँगले सुचारु भएपछि भण्डारी करीब अढाई हजार चिकित्सक/कर्मचारीको टिम लिडर बन्नेछन् । ती सबै चिकित्सक र कर्मचारीले आफ्नो दक्षता प्रमाणित गर्ने एक प्लेटफर्मका रुपमा उनी आफूलाई ठान्छन् ।
‘मैँले प्लेटफर्म बनाईदिएको छु । उहाँहरुले आफ्नो दक्षता यो प्लेटफर्ममा उपयोग गरेकै कारण हामी देशमा विश्वासनीय सेवा दिइरहेका छौँ । उहाँहरुले बेइमानी गरेमा सबैप्रति अन्याय हुनेछ । निःस्वार्थ सेवाको निरन्तरता छाडेर आफ्नो पेशामै बेइमान भएमा त्यसले नकारात्मक परिणाम ल्याउँछ । इमान्दार भएको खण्डमा ह्याम्स अस्पताल हामीले टेकओभर गरेपछिको जस्तो सकारात्मक परिणाम आउँछ । हामीले बिरामीप्रति जिम्मेवार भएर गरेको कर्मको फल आज पाइरहेका हौं, विवादरहित भएर’, भण्डारी भन्छन् ।
भण्डारी राज्यलाई पनि योगदान दिइरहेका छन्, कर तिरेर । यो पनि इमानदारिताको अर्को उदाहरण हो । ह्याम्सले मात्रै मासिक एक करोड बढी राज्यलाई कर तिर्छ । अस्पताल र अन्य कम्पनीले गरेर मासीक दुई करोड कर तिर्दै आएको छ । उनी भन्छन्, ‘मैँले इमानदार भएर कर तिरें, अब देशले यो पैसाको सही सदुपयोग गर्छ या दुरुपयोग गर्छ, त्यो राज्यको जिम्मा हो । सिन्धुपाल्चोकमा जन्मिएको एउटा कृषकको छोराले राव्यलाई यत्तिको योगदान दिनु भनेको चानचुने कुरा भने हैन ।’
देशका लागि भण्डारीको इमान्दार योगदानको राज्यले पनि उचित मुल्यांकन गर्दै आएको छ । वर्ष २०७८ मा प्रवल सेवाश्री पदकबाट सम्मानित उनलाई फ्रान्सको युरोपियन युनिभर्सिटीले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । उनी सगर्व भन्छन्, ‘देशविदेशमा हाम्रो इमान्दार कर्मको मूल्याङ्कन भएको छ । कर्म गर्ने मानिस निराश हुनु जरुरी छैन । इमान्दार ढंगले आफ्नो कर्मलाई निरन्तरात दिँदै जाँदा सार्थक परिणाम अवश्य आउनेछ ।’
संख्यात्मक होइन, गुणात्मक सफलता
ह्याम्सको प्रगति देखेर अहिले आरएस भण्डारीका धेरै साथीहरु हौसिएका छन् । पूर्व दमक–झापादेखि पश्चिम धनगढी–बुटवल सबै ठाउँबाट उनी समक्ष आग्रह आउने गरेको छ, ‘हामी लगानी गर्छौं, तपाई थोरै लागनी गरिदिनुस् । ह्याम्सको नाम यहाँ ल्याऔँ । ह्याम्सको नाम यहाँ ल्याउने हो भने अस्पताल भने चल्छ । यहाँ डाक्टर पठाइदिनुहोला ।’
आफ्नो अनुभवको कसीमा भण्डारी त्यो संभव देख्दैनन् । प्रविधिसम्पन्न, दक्ष चिकित्सक र उत्कृष्ट सेवा दिने अस्पताल जहाँ पायो त्यही हुँदैन । विदेशमा पनि यो सम्भव छैन ।
हिमालय पोष्टसँग उनले भने, ‘मेरो गृह सिन्धुपाल्चोकमा पनि अस्पताल नै हो, तर, त्यसले दिने सेवा सिमित छ । बिरामी सिकिस्त भएर आउँदा त्यो अस्पतालले मर्न दिदैँन । अकाल मृत्युबाट जोगाएर नजिकैको ठूलो अस्पतालमा रिफर गर्ने हो ।’
ह्याम्सजस्तै अस्पताल नेपालभरि खोल्न सम्भव नभएको भण्डारीको ठहर छ । लगानीको हिसाबले यो स्तरको एउटा अस्पतालले सोही हिसाबले ‘रिर्टन’ पाउनुपर्ने हुन्छ, जुन सम्भव छैन । यसैगरी उत्कृष्ट चिकित्सकको नेपालमा सीमित मात्रामा छन् । उत्कृष्ट चिकित्सक पुर्याउन सकिँदैन भने उन्नत उपकरण र प्रविधि पुर्याएर पनि उपयोग नहुनसक्छ । यही कारण अबका केही वर्ष भण्डारी आवश्यकता हेरेर सेवा गर्ने सोचमा छन् । भक्तपुरमै उनको अबको कर्म केन्द्रित हुनेछ ।


























































