काठमाडौँ– यहाँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत स्वतः निलम्बित भएका छन् ।
उनीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् । मेयर बस्नेत निलम्बनमा परेसँगै नगरपालिकाको नेतृत्व एमालेमा पुगेको छ ।
नागार्जुनको उपमेयरमा नेकपा एमालेबाट निर्वाचित सुशीला अधिकारी छिन् । मेयर निलम्बनमा परेसँगै उपमेयर अधिकार स्वतः कार्यवाहक मेयर बनेको नगरपालिका प्रवक्ता महेश रिमालले बताए । अधिकारी पनि दोस्रो पटक उपमेयर निर्वाचित भएकी हुन् ।
प्रमुख बस्नेतले पदको दुरुपयोग गरेर आफ्नै नगरपालिका क्षेत्रमा रहेको पद्या कोलनी प्रालि, पद्या मर्चेन्ट कम्पनी र जगतगुरु कृपालु प्रतिष्ठान नेपालका लागि काम गरी नाजायज लाभ लिएको र राज्यकोषमा नोक्सानी हुने काम गरेको आरोप आयोगको छ ।
बजार मूल्य रु ४७ करोड ७५ लाख भएको जग्गा पद्या कोलनीले जग्गाधनीलाई रु १८ करोड ९४ लाख १८ हजार चार सय ४८ भएको उल्लेख गरी भुक्तान दिएको, राजश्व र बैनाबट्टा रकमसमेत गरी रु कूल २३ करोड २२ लाख २७ हजार मात्रै भुक्तानी गरेको पाइएको आरोपपत्रमा उल्लेख छ ।
सो कार्यमा नगरप्रमुख बस्नेतको प्रत्यक्ष सहभागिता रहेको पाइएको आयोगको आरोप छ । नगरप्रमुख बस्नेत र निजको श्रीमती उर्मिला बस्नेतको खातामा रु दुई करोड १५ लाख ७३ हजार तीन सय ९५ रकम जम्मा गरेको पाइएको छ । यस्तै, रु छ करोड ८२ लाख बराबरको जग्गा र वैवाहिक भोज गर्दा रु २४ लाख ७२ हजार छ सय ३७ बराबरको रकम समेत पद्या कोलनीका सञ्चालक राजुप्रसाद कँडेलले उपलब्ध गराएको आयोगले जनाएको छ ।
आयोगले रु नौ करोड २२ लाख ४६ हजार ३२ बराबरको बिगो दावी गर्दै नगरप्रमुख बस्नेत, निजका श्रीमती उर्मिला बस्नेत, पद्या कोलनीका सञ्चालक कँडेल विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुर गरेको अभियोगमा पनि प्रमुख बस्नेत, निजको श्रीमती उर्मिला र पद्या कोलनीका सञ्चालक कँडेल विरुद्ध रु १३ करोड १२ लाख ७३ हजार बराबरको बिगो दावी गर्दै आइतबारै मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
























































