हेटौडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले आफ्नो कार्यकालमा खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने वातावरण बनाउने बताएका छन्।
बकैया गाउँपालिका– ११ सिमातमा आयोजित खुता कराँते प्रतियोगिता २०८१ लाई सम्बोधन गर्दै मन्त्री महर्जनले अन्तर्राष्ट्रिय जगतमा पहिचान स्थापित गराएका खेलाडीहरूको राज्यले उचित सम्बोधन गर्न नसकेको बताए। आफ्नो कार्यकालमा खेलाडीलाई खेलेरै जीविकोपार्जन गर्न सक्ने वातावरण तयार पार्ने र त्यसका लागि सबै तहका सरकारको सहयोग हुनुपर्ने उनको भनाइ छ।
उनले आफू मन्त्री भएपछि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई कार्यविधि नै बनाएर नगद पुरस्कारसहित सम्मान गर्ने कार्यको सुरुवात गरिसकेको बताए।
यसैबिच, बकैया गाउँपालिका खेलकुद विकास समिति संयोजक विजय लामा थिङको अध्यक्षतामा भएको समारोहमा विजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको छ। सोमबार भएको प्रतियोगितामा सात स्वर्णसहित बकैयाको छतिवन कराँते डोजो प्रथम भएको थियो। छतिवनले सात स्वर्णसहित पाँच रजत र एक कांस्य पदक हात पारेको हो।
सात स्वर्ण, एक रजत र आठ कांस्यसहित हात्तीसुँडे डोजो टिम दोस्रो हुँदा तीन स्वर्ण, नौ रजत र नौ कांस्यसहित सिमात डोजो तेस्रो भयो।



























































