काठमाडौँ – गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा ‘म्युचूअल फण्ड’ अन्तर्गत पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’को इकाई बाँडफाँड गरिएको छ ।
बिहीबार निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी “गरिमा समृद्घि योजना” को इकाई बाँडिएको हो । गरिमा समृद्घि योजनाको बीज पुँजी सहित प्रतिइकाई अंकित मूल्य रु. १० दरको १० करोड इकाई पौष ७ गते देखि पौष ११ गतेसम्मका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ९४ हजार ६ सय ८१ जना आवेदकहरुले १२ करोड १८ लाख ७८ हजार ५ सय १० इकाईका लागि आवेदन दिएका थिए । निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईकोे लागि आवेदन परेपछि “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” अनुसार बाँडफाँड गरिएको हो । बीज पूँजीसहित योजनाको आकार १ अर्ब २५ करोड रुपैयाँ अर्थात् १२ करोड ५० लाख इकाई कायम गरिएको छ ।