तौलिहवा–तोकिएको समयसीमा भित्र नगरबासीले शौचालय नबनाएपछि शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले फरक शैली अपनाउन थालेका छन् । पटक–पटक शौचालय बनाउन ताकेता गर्दा समेत नगरबासीले शौचालय बनाउन अटेरी गरेपछि मेयर अधिकारीले फरक शैली अपनाएका हुन् । उनले अहिले शौचालय नबनाउनेको घरमा पुगेर कति दिन भित्र शौचालय बनाउने भन्दै लिखित सहमति गर्न थालेका छन् ।


ADVERTISEMENT


अरु नगरपालिकाले भन्दा फरक शैली अपनाएका मेयर अधिकारीले जनताको प्रत्यक्ष घरदैलोमा पुगेर शौचालय बनाउन लिखित सहमति गरेको बताए । तोकिएको समय भित्र खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न सकिएन मेयर अधिकारीले भने, ‘जनतालाई फकाईफुलाई गरेर शौचालय बनाउन भनेका छौँ । ’


ADVERTISEMENT

# # #


आइतबार नगरको ३ नम्बर वडामा अनुगमनको क्रममा मेयर अधिकारीले दर्जनौ घरमा पुगेर शौचालय बनाउन लिखित सहमति गरेको बताए । वडाका मदवा, वलुहवालगायतका गाउँमा पुगेर शौचालय बनाउन लिखित सहमति गरिएको हो । ‘पटक–पटक शौचालय बनाउन आग्रह गर्‍यौ, चेतावनी दियौँ केही लागेन मेयर अधिकारीले भने, ‘अब घरघरमा पुगेर शौचालय कति दिन भित्र बनाउने भन्ने बारे लिखित सहमति गर्दा प्रभावकारी हुने देखेर यस्तो सहमति गर्‍यौ ।’

मेयर र घरधुरी बीचको सहमतीमा एक हप्ता भित्र शौचालय बनाउने सम्झौता छ । उक्त अविधिमा काम नभए कारर्बाही हुने सहमतिमा उल्लेख छ । नगरकी उपमेयर शिवकुमारी थारुका अनुसार थारु समुदायले शौचालय बनाउन अटेरी गरेका छन् । सहमतिपछि पनि अटेरी गरेको पाइए सरकारी निकायबाट पाउने कुनै पनी सेवा सुविधा नदिइने उनले बताइन् । शौचालय निमार्ण गरी प्रयोग गर्न उपप्रमुख थारुले सबैलाई आग्रह गरेकी छन् ।

११ वडा रहेको नगरपालिकामा हालसम्म वडा नम्बर १, २, ९, १० र ११ वडा गरी ५ वटा वडा मात्र खुला दिसा मुक्त क्षेत्र घोषणा भएका छन् । अबको एक हप्ता भित्र वडा नम्बर ३, ५ र ८ खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीमा नगरपालिका लागेको छ । बाँकी वडालाई फागुन मसान्त भित्र दिसा मुक्त गर्ने नगरपालिकाको योजना रहेको प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए । १० स्थानीयतह रहेको जिल्लामा हालसम्म वाणगंगा र बुद्धभूमी नगरपालिका मात्र खुला दिसा मुक्त क्षेत्र घोषणा भएका छन् । बाँकी चार नगरपालिका र चार गाउँपालिकालाई यही चैत्र मसान्त भित्र खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य रहेको छ ।