काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच भनाभन भएको छ ।


ADVERTISEMENT


बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । सो क्रममा भनाभन भएको हो ।


ADVERTISEMENT

# # #


आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले कडा स्वरमा प्रश्न उठाएका थिए । त्यसपछि यादवले उत्तेजित जवाफ फर्काए । यादवको छेउमै बसेका माधव नेपाल मुसुमुसु हाँसे मात्रै, केही बोलेनन् ।

यादवले वैठक समापन भएको घोषणा गरेपछि सुवालले उनीतिर औंला तेर्साउँदै भनेका थिए, ‘सभापतिज्यूले जथाभावि नगर्नुस । मैले बोल्न पाउँछु कि पाउँदिन ? मैले सहमति छैन भन्दा भन्दै कि जबरजस्ति गर्नुभयो ?’

सुवालको भनाइले यादव आवेशमा आए । उनले सुवालको प्रश्नको जवाफ नदिइकन उनलाई थर्काउँदै अमर्यादित ढंगले नौटंकी गर्ने भन्दै सुवाललाई हप्काए । उनले भने, ‘औंला तल राख्नुस, नौंटंकी गर्ने ?’ सुवालले समितिका सभापति निरंशुक ढंगले चल्न नहुने बताइरहदा सभापति यादवले भने निरंशुक बन्ने भन्दै जवाफ फर्काए । 

‘तपाईं निरंकुश बन्न नखोज्नुस, यो राणा शासन होइन, तपाईं राणाको अवतार लिन नखोज्नुस । जसरी राणा शासन समाप्त भयो, त्यसैगरि तपाईं यो समितिबाट हुत्तिनुहुन्छ होस गर्नुस । तपाईं पनि एक्लै म पनि एक्लै, के फुर्ति गर्नुहुन्छ ?’ सुवाल चर्किए ।

उनले थपे, ‘मेरो आपत्ति छ भनेपछि के हो भनेर सोध्नुपर्दैन सभापति ? अनुपस्थित सदस्यको नाममा समिति बनाएर के गर्न खोज्नुभएको ? तपाईं निरंकुश बन्ने ?’

त्यसपछि यादव जुरुक्कै आफ्नो कुर्सीबाट उठेर भने, ‘हो, बन्ने । के गर्नुहुन्छ ?’ ‘तपाईं निरंकुश बन्नुभयो भने सकिनु हुन्छ । कुन दिन सिधिन्छ यो सभापति अनि थाहा हुन्छ ।’ यति भनेर भुट्भुटिँदै निस्किए सुवाल ।

नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थीति नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए । यसअघि पनि माओवादी सांसद सुदन किराती , सांसद सुवाललगाएतसंग पनि समितिमा सभापति यादवको भनाभन भएको थियो ।