काठमाडौँ– सांसद देवीप्रकाश भट्टचनले नेपाल एयरलाइन्स (नेपालवायु सेवा निगम) मा निजी क्षेत्रको लगानी भित्र्याउन सुझाव दिएका छन् ।
मंगलबार बसेको संसदीय समितिको बैठकमा भट्टचनले सम्भव भएसम्म निजीक्षेत्रलाई सहभागी गराउन आग्रह गरेका हुन् । अहिलेकै अवस्थामा ऋणको भार बोकेर एयरलाइन्स सञ्चालन गर्न कठिन रहेको उनको भनाई छ ।
निजीक्षेत्रका बुद्ध एयर, यती एयर लगायतका कम्पनीले राम्रो प्रगति गरिरहँदा नेपाल एयरलाइन्सको अवस्था दयनीय भएको बेला सांसद भट्टचनले जनाए । नेपाल एयरलाइन्सले महँगो ब्याजमा ऋण प्रयोग गरेकोमा उनले चिन्ता व्यक्त गरे। ‘वाणिज्य बैंकहरूले सरदर साढे ८ प्रतिशत ब्याजमा कर्जा लगानी गरिरहेका छन्,’ उनले भने, ‘एयरलाइन्सले अहिले साढे १० प्रतिशत ब्याजमा ऋण लिएको छ।’
नेपाल एयरलाइन्सले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतबाट करिब ५२ अर्ब रूपैयाँ ऋण लिएको छ। पर्यटनमन्त्रीले अर्थमन्त्रीलाई आग्रह गरेर ब्याज दर घटाउन पहल गर्नुपर्ने उनको सुझाव छ ।



























































