कञ्चनपुर– जिल्लामा एक महिलाले भारतीय युवकसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेको खुलेको छ ।
जिल्लाको बेलौरी नगरपालिका–६ भूराकोटकी जनककुमारी रानाले आफ्नो भारतीय प्रेमीको मिलोमतोमा आफ्नै श्रीमान्को हत्या गरेकी हुन् । प्रहरीका अनुसार, अनुसन्धानको क्रममा प्रहरीले मृतक सियाराम रानाकी श्रीमती जनककुमारी र भारतीय नागरिक ३० वर्षीय फारुख केही समयदेखि सम्बन्धमा रहेको खुलेको छ ।
‘सितारामले गरेको २८ लाखको बीमा हत्याउने र श्रीमानको मृत्युपछि सँगै बस्ने योजना बनाएर प्रेमीको मिलेमतोमा श्रीमानको हत्या गरको अनुसन्धानबाट खुलेको छ’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले भने ।
यसरी गरिएको थियो हत्या
प्रहरीका अनुसार भारतीय नागरिक फारुखले नेपाल–भारत सीमाबाट तस्करीका सामान ओसारपसारको काम गर्दथे । यसैक्रममा जनककुमारी र फारुखबीच चिनजान भएको थियो ।
उनीहरुले सियाराम रानाको हत्या गरिसकेर पुस १३ गते शौचालयमा लडेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटिएको थियो ।
टाउको र तालुमा चोट लागेको देखिएपछि घटना शंकास्पद भएको भन्दै प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा रानाको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोका लगायतका ठाउँमा रगत लागेको भेटिएको थियो । खाटमुनि रगत लागेको ईंटा भेटिएको थियो भने दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए ।
सोधपुछका क्रममा सियारामकी श्रीमती जनककुमारीले बिहान दुई जनाबीच झगडा भएको र दिउँसो सुतेका बेला ईंटा प्रहार गरी हत्या गरेको स्वीकार गरेको डिएसपी जोशीले बताए । त्यसपछि उनलाई पक्राउ गरेर मुद्दा चलाइएको थियो ।
तर, त्यो बेला उनले आफ्नो प्रेमी समेत रहेका भारतीय नागरिकका विषयमा कुनै कुरा खोलिनन् । जनककुमारीमाथि अनुसन्धान गर्ने क्रममा भारतीय नागरिकसँग मिलेर हत्या गरेको तथ्य फेला परेपछि फारुखलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
सियारामकी श्रीमतीलाई जिल्ला अदालतले ८ पुसमा पुर्पक्षका लागि कारागार चलान गरेको छ भने हालै पक्राउ परेका भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।


























































