काठमाडौँ – मधेशमा सम्पन्न पहिलो संकरणको जय शाह पुरुष एलाईट दुई दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै पुलिसले ट्रफी उचालेको हो ।


ADVERTISEMENT


वीरगञ्जस्थित नारायणी क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले पहिलो पारीमा ९ विकेट विकेट गुमाएर १३३ रन बनायो । उसका लागि कुशल भुर्तेलले ५१ रन बनाए भने अर्जुन साउँदले २८, अमित श्रेष्ठले २० र रासिद खानले १० रन जोडे । बलिङतर्फ आर्मीका साहब आलमले ७ विकेट लिए भने सोमपाल कामी र बसिर अहमदले समान १–१ विकेट हात पारे ।


ADVERTISEMENT

# # #


जवाफी ब्याटिङमा उत्रिएको आर्मी ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १७० रनमै समेटियो । उसका लागि भीम सार्कीले ५८, बसिर अहमदले ४० तथा सोमपाल कामीले ३२ रन जोडे भने कप्तान विनोद भण्डारी १४ तथा इमरान शेख १० रनमा आउट भए । बलिङतर्फ पुलिसका सागर ढकालले ५, कुशल भुर्तेलले ३ र गुल्शन झा र ललित राजवंशीले समान १–१ विकेट लिए ।

पहिलो पारीमा ३७ रनले पछि परेको पुलिसले दोस्रो पारीमा ४९.१ ओभरमा सबै विकेट गुमाउँदै १३९ रन मात्रै बनाउन सक्यो । उसका लागि कुशल भुर्तेलले ४५ रन बनाउँदा दिलिप नाथले ३४, राशिद खानले १८ तथा अमित श्रेष्ठले १३ रन बनाए । बलिङतर्फ आर्मीका शाहब आलम र बसिर अहमदले समान ५–५ विकेट लिए ।

अन्तिम पारीमा १०३ रनको चुनौती पाएको आर्मी जवाफी ब्याटिङ पच्छ्याउने क्रममा २९.२ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमै समेटियो । आर्मीका लागि इमरान शेखले २८ तथा विनोद भण्डारी र सोमपाल कामीले समान ११–११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

पुलिसलाई उपाधि दिलाउने क्रममा सागर ढकालले शानदार बलिङ गरे । उनले ६ विकेट लिए भने ललित राजवंशीले ४ विकेट हात पारे ।