काठमाडौँ – नेपाल कबड्डी लिग (एनकेएल) शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ ।
फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता राउन्ड रोविन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म चल्ने आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ । प्रतियोगीतामा ६ टिमको सहभागीता रहने छ । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स रहेका छन् ।
सवै लिगका प्रशिक्षक तथा मार्की खेलाडीहरुले पहिलो संस्करणको तयारी राम्रो भएको र निकै उत्साहित रहेको बताएका छन् । प्रतियोगीता अघि बिहीबार दशरथ रंगशालामा आयोजित प्रि-म्याच कन्फ्रेन्समा उनीहरुले पहिलो संस्करणको उपाधी जित्ने दावी गरेका छन् ।
राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन् भने इलिमिनेटर र क्वालिफायरपछि फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ ।
उद्घाटन खेलमा शुक्रबार काठमाडौं माभरिक्स र पोखरा लेकर्सबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।