काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ–तराई–मधेश द्रूतमार्गको अजलोकन भ्रमण गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार आयोजना अन्तर्गत विभिन्न स्थानहरूको हवाई तथा स्थलगत अवलोकन भ्रमण गरेका हुन् ।


ADVERTISEMENT


त्यसक्रममा उनले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै लेनडाँडा तथा धेद्रेमा निर्माणाधीन सुरुङ मार्ग, पुल, स्लप प्रोटेक्सनको समेत अवलोकन गरेका छन् ।


ADVERTISEMENT

# # #


अवलोकन भ्रमणका अवसरमा प्रधान सेनापति महारथी अशोक राज सिग्देल, आयोजना प्रमुख, मध्य पृतनापति, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

विभिन्न १३ वटा प्याकेज रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको हाल निर्माणाधीन १२ वटा प्याकेजहरू अन्तर्गत रहेका ७ वटा सुरुङ मध्ये धेद्रे तथा लेनडाँडामा रहेका २ वटा सुरुङहरू छिचोलिई सकिएको छ । यस्तै महादेवटार स्थित सुरुङ मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न हुनुका साथै चन्द्रामभिर स्थित सुरुङको निर्माण कार्य सुरु भएको छ र अन्य ३ वटा सुरुङहरूको डिजाइन तथा पूर्व तयारीको कार्य भई रहेको नेपाली सेनाले जनाएको छ ।

त्यस्तै, उक्त आयोजनामा निर्माण गर्नु पर्ने ८९ वटा पुलहरू मध्ये ८० वटा पुलहरूको निर्माण कार्य भई रहेको छ भने ५ वटा पुलको निर्माण कार्य सम्पन्न भई सकेको छ ।

नेपाली सेनाका अनुसार काठमाडौँ–तराई–मधेस द्रूतमार्ग सडक आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ३७.६० प्रतिशत र वित्तीय प्रगति ३९.५६ प्रतिशत रहेको छ ।