काठमाडौँ – ललितपुरस्थित बागमती प्रदेश स्तरीय बज्रवाराही चापागाउँ अस्पतालमा पहिलो पटक एपेन्डिर्साटिसको शल्यक्रिया सम्पन्न गरिएको छ ।
गत पौष २३ गते अस्पताल प्रमुख डा. अंकुर पौडेलको नेतृत्वमा ४५ वर्षीय महिलाको एपेन्डिसाईटिस सफल शल्यक्रिया गरिएको हो । शल्यक्रियामा डा. दिपक लोहला र डा. राजेन्द्र महर्जनलगायतको टोली सहभागी थियो । बिरामी महिला पौष २२ गते अत्याधिक पेटको दुखाई लिएर अस्पताल पुगेकी थिइन् ।
आवश्यक चेकजाँचपछि बिरामीलाई एपेन्डिसाईटिस भएको पत्ता लागेपछि भोलिपल्टै उनको शल्यक्रिया गरिएको हो । अस्पतालका अनुसार, हाल उनको अवस्था सामान्य रहेको छ भने उनी निरन्तर चिकित्सकको फ्लोअपमा समेत रहेकी छन् ।
अस्पतालमा छोटो समयमै एपेन्डिसाईटिसको शल्यक्रिया हुनु आफैँमा गौरवको विषय भएको अस्पताल प्रमुख डा. अंकुर पौडेल बताउँछन् । दक्ष जनशक्तिको व्यवस्थापन तथा साथ र सहयोगका कारण यो सम्भव भएको उनको भनाई छ।
यस्तै बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिई अस्पताललाई धन्यवाद समेत ज्ञापन गरेका छन् । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष रामहरि घिमिरेले बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शल्यक्रियामा संलग्न चिकित्सकको टोलीलाई धन्यवाद दिए ।
करिब ८ महिनाअघि अस्पताल प्रमुख भएर आएपछि पौडेलले पहिलो प्रयासमै सफलता मिलेको हो ।