काठमाडौं–नेपाल–भारत प्रबुद्ध समूहका भारत तर्फका संयोजक भगतसिंह कोशियारीले आगामी दिनमा नेपाल–भारत सम्बन्ध झनै प्रगाढ बन्ने दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै कोशियारीले यस्तो उक्त दाबी गरेका हुन् ।


ADVERTISEMENT


कार्यक्रममा बोल्दै उनले भने,‘आगामी दिनमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध विकास र समृद्धिमा बढि केन्द्रित हुन्छ, भारत नेपालमा विकास भएको हेर्न आँतुर छ, यहाँ स्थायित्व कायम होस्, एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपालमा नयाँ सरकार बनेको छ, यो सरकारले देश र जनताको हितमा काम गरोस् ।’


ADVERTISEMENT

# # #


साक्षात्कारमा बोल्दै उनले आगामी दिनमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध थप मजबुद हुने र विकास साझेदारीमा हातेमालो गर्दै अघि बढ्ने बताए । उनले अघि थपे,‘नेपाल–भारत सम्बन्धको सवाल छ, म धेरै विश्वासका साथ भन्न सक्छु कि नेपालका जति पनि नेताहरु हुनुहुन्छ, उहाँहरु सबैको भारतसँग राम्रो सम्बन्ध छ ।

जहाँसम्म पब्लिकको भारतसँगको सम्बन्धको कुरा छ । उहाँहरुको त झनै अटुट सम्बन्ध छ । म सोच्छु कि दुःधमा यदि चिनी मिलाईयो भने तपाई चिनीलाई अलग गर्न सक्नुहुन्न । यस्तै भारत र नेपालको सम्बन्ध छ । अहिले नेपालमा नयाँ सरकार बनेको छ । जनताको यो सरकारसँग धेरै ठूलो अपेक्षा छ ।’

भाजपाका पूर्व उपाध्यक्ष समेत रहेका संयोजक कोशियारीले नेपाल बसाईको क्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता समेत गरेको जनाए ।

प्रधानमन्त्रीसँग भएको भेटबारे उनले भने, ‘हेर्नुहोस्, जब वान–टु–वान भेटवार्ता हुन्छ, बैठकमा भएका कुराहरु हुबहु बाहिर ल्याउन मिल्दैन् । मैले देउवासँग पनि भेटे गरें । प्रधानमन्त्री ओलीजीसँग पनि भेट गरें । प्रचण्डजीसँग पनि भेट गरें । मलाई राम्रो लाग्योकि सबै नेताहरुले हामी भारतसँग कहिल्यै सम्बन्ध बिगार्नेबारे सोच्न पनि सक्दैनौं भन्नुभयो । उहाँहरुले यो त हामी सपनामा पनि सोच्न सक्दैनौं भन्नुभयो ।’

त्यस्तै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री ओलीबीच कहिल्यै पनि सम्बन्ध खराब नरहेको जिकिर गरे । नेपालमा वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन भएकोप्रति खुशी व्यक्त गर्दै कोशियारीले भने, ‘म यति भन्न चाहन्छु कि यो एकदमै हर्षको कुरा हो । नेपालमा प्रजातान्त्रिक रुपमा पहिलोपटक विधिवत् र संविधान अनुसार सरकार गठन भएको छ । म भन्न सक्छु कि यो धेरै धेरै ठूलो उपलब्धि हो । यस्तो उपलब्धि नेपाली जनताले दिएका छन् । जनताले सरकार बनाउनको लागि भारी बहुमत दिए । म नेपालका जनतालाई अभिनन्दन गर्न चाहन्छु । उनीहरुको प्रशंसा गर्छु ।’

प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारले नेपाली जनताको दुःख र दर्दहरु दुर गरोस् भनेर आफूले भगवान पशुपतिनाथसँग कामना गरेको पनि उनले बताए । कोशियारीले भने, ‘मेरो त भगवान पशुपतिनाथसँग प्रार्थना छ कि जुन यहाँ नयाँ सरकार बनेको छ, यसले जनताको हितको लागि काम गरोस् । जनताका हरेक दुःख दर्दहरुको दुर गरोस् । सरकारमा स्थायित्व आओस् । विकास र समृद्धिको लागि स्थायित्व अनिवार्य हुन्छ ।’

नेपाल–भारत प्रबुद्ध समूहले चाँडै प्रतिवेदन ल्याउने पनि उनले जनाए । कोशियारीले भने,‘जहाँसम्म इपिजीको सवाल छ, चाहे १९५० को सन्धिको कुरा छ, चाहे ट्रेड एण्ड ट्रान्जिट होस्, चाहे पानी होस्, चाहे कनेक्टिभीटी होस्, भारतबाट नेपालमा रेल आउनुपर्छ, साईबर क्राईमबारे मिलेर काम गर्नुपर्छ, वातावरणीय विषयहरु छन् ।

यी सबै विषयमा कसरी हामी आपसमा मिलेर काम गर्न सक्छौं भनेर व्यापक छलफल गरेका छौं । अब आउने प्रतिवेदन दुवै देशको हितमा हुन्छ । प्रतिवेदन आएपछि नेपालीहरु खुशी भएको हेर्न चाहन्छु । प्रशन्न भएको देख्न चाहन्छु । यसमा हाम्रो प्रयास छ ।’