काठमाडौँ– धरान उपमहानगरका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर छिर्ने सूचनापछि सिंहदरबारमा प्रहरी निगरानी बढाइएको छ ।
सोमबार धरानबाट रित्तो गाग्री बोकेर काठमाडौँ आईपुगेका उनी आज रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने सूचनापछि प्रहरी निगरानी बढाइएको हो । साही क्रममा आज हर्क सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरी उनको रित्तो गाग्री खोसेको छ । साम्पाङको साथबाट प्रहरीले गाग्री खोसेपछि एकछिन तनाव भएको थियो ।
धरानमा दिर्घकालीन खानेपानीको समस्या समाधान गर्नुपर्ने माग राख्दै हर्क हिजो काठमाडौँ आईपुगेका थिए । सरकारलाई दबाब दिन आफूले साथमा रित्तो गाग्री ल्याएको उनको जिकीर छ । आज उनले सिंहदरबारस्थित प्रधानमन्त्री एवम् खानेपानीमन्त्रीलाई भेट्ने बताएका थिए । तसर्थ गाग्री खोसे पनि प्रहरीले उनलाई सिंहदरबार प्रवेश गर्न भने दिएको छ ।
आज सिंहदरबार अगाडी सञ्चारकर्मीहरुसंग बोल्दै मेयर साम्पाङले खानेपानी मन्त्रालयलाई पटक पटक धरानमा पानी ल्याउन ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको मेयर साम्पाङको सुनाए ।
धरानमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकारलाई दबाब दिनुपरेको उनको भनाई छ । आफ्नो काम इमान्दारिता साथ गर्नुपर्नेमा उनले जोड दिदैँ उनले धरानका जनताको खानेपानीको दीर्घकालीन व्यस्थापन नभएसम्म सरकारलाई घच्घच्याउने बताए ।