काठमाडौँ – नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकार छिटै ढल्ने संकेत गरेका छन् ।
चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले माओवादीको प्राथमिकतामा सरकारमा नभएको स्पष्ट पारेका हुन् । उनले सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा आपत्ति जनाए ।
‘अहिले हाम्रो प्राथमिकतामा सरकार छैन । हाम्रो प्राथमिकता संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार गर्नेमा छ ।’ उनले भने, ‘तर यो सरकार धेरै समय जान्छ भन्ने हामीलाई लाग्दैन । यो प्राकृतिक, स्वभाविक र पारदर्शी छैन । फेरि गरेका काम पनि उल्टा उल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा त लाजैमर्दो भएको छ ।’
ओली नेतृत्वको सरकार बने देखिनै संविधान र लोकतन्त्रको भावना विरुद्ध काम भइरहेको प्रचण्डले आरोप लगाए । सुशासन, आर्थिक विकास र भ्रष्टाचार नियन्त्रणमा विशेष काम गर्दैगर्दा असंवैद्यानिक र अपारदर्शी ढंगबाट नयाँ सरकार बनेको उनको भनाई थियो ।



























































