काठमाडौँ –काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाली महिला टोलीले आज पनि हार व्यहोरेको छ । बुधबार भएको खेलमा नेपाल नेदरल्याड्ससँग १० विकेटले पराजित भएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट बनाउँदै १४५ रन बनायो । १४६ रनको उच्च स्कोर पच्छ्याएको नेदरल्याण्ड्सले २ बल बाँकी छँदै १९.४ ओभरमा बिना विकेटको क्षतिमा जित हात पारेको हो । यससँगै नेपाली टोलीले खेलेका ५ मध्ये सबैमा हारेको छ भने नेदरल्याण्ड्सले ५ मध्ये ३ खेल जितेको छ ।


ADVERTISEMENT

# # #


नेदरल्याण्ड्को जितका लागि ओपनर स्ट्रेरे लालिस र फेबे मोल्केन्बोरले शानदार ब्याटिङ गरे । उनीहरुले पहिलो विकेटका लागि नटआउट १५१ रनको साझेदारी गरे । त्यसक्रममा स्ट्रेरेले ६९ बलमा ११ चौका र २ छक्काको प्रहार गर्दै नटआउट ९८ रन बनाइन् । शतक बनाउनबाट उनी मात्र २ रनले चुकिन् । यस्तै फेबेले ४९ बलमा ४ चौकाको मदतमा ४८ रन बनाइन् । नेपालका कुनै पनि बलरले सफलता पाउन सकेनन् ।

यसअघि ब्याटिङतर्फ नेपालका लागि पूजा महतोले अर्धशकीय पारी खेलिन् । त्रिवि क्रिकेट मैदानमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी पूजाले ५१ बलमा ५ चौकाको मदतमा नटआउट ६२ रन बनाइन् । यस्तै कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रनको योगदान दिए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ नेदरल्याण्ड्सकी आइरिस ज्वीलिङले २ तथा हिथर साइगर्स र क्यारोलिन डी लेंगले समान १–१ विकेट लिए । सिरिजको अन्तिम खेल नेपालले शुक्रबार थाइल्याण्डसँग खेल्नेछ ।