म्याग्दी– बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले गम्भीर त्रुटि गरेको भेटिएको छ । आइरनचक्की दिनुपर्ने गर्भवतीलाई औषधि वितरण कक्षमा बस्ने स्वास्थ्यकर्मीले जुकाको औषधि (अल्वेन्डाजोल) दिएका छन् ।


ADVERTISEMENT


४ मंसिर ०७४ मा अस्पतालमा गर्भपरीक्षण गराएकी बेनी नगरपालिका–५ सेतोढुंगाकी समीक्षा खत्री कुँवरलाई सोही दिन औषधि वितरण कक्षमा रहेका स्वास्थ्यकर्मीले अल्बेन्डाजोलको बट्टा दिएका थिए।


ADVERTISEMENT

# # #


कुँवर र उनका परिवारले २३ माघमा मात्र आफूलाई आइरनचक्की नभएर जुकाको औषधि दिएको थाहा पाएका थिए । गलत औषधि दिएको थाहा पाएपछि उनीहरूले तत्काल बेनी अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनुका साथै अस्पताल, जिल्ला प्रशासन कार्यालय र बेनी नगरपालिकाको कार्यालयमा उजुरी दिएका छन् ।

खड्का हाल सात महिनाकी गर्भवती छिन् । स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण आमा र बच्चाको स्वास्थ्य जोखिममा परेको पीडितको दाबी छ । उनीहरूले आइरनको कमीले आमा र बच्चाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै छानबिन गरी लापर्बाही गर्ने कर्मचारीलाई कारबाही र स्वास्थ्यको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् ।

अस्पतालद्वारा गल्ती स्वीकार

अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानेले औषधि दिँदा कमजोरी भएको स्वीकार गरेका छन् । बेनी र पोखराको अस्पतालमा भिडियो एक्स रे गर्दा आमा र बच्चाको स्वास्थ्यमा भने असर नपरेको न्यौपानेले बताए । चेप्टे जुका परेको अवस्थामा गर्भवतीलाई समेत ९० दिनसम्म अबलेन्डाजोल खुवाउनुपर्ने उनको भनाइ छ । तर, कुँवरको स्वास्थ्य परीक्षण रिपोर्टमा जुका परेको देखिँदैन ।

बेनपाका उपमेयर सञ्जु बरुवाल, बेनपा–५ का अध्यक्ष लक्ष्मण बानियाँ र अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीको रोहबरमा डाक्टर न्यौपाने र पीडित परिवारबीच लापर्बाही गर्ने कर्मचारीलाई कारबाही गर्ने सहमति भएको छ ।

लापर्बाही गर्ने कर्मचारीमाथि छानबिन गरी विभागीय कारबाही गर्ने, अस्पतालका चिकित्सकले गर्भवतीको नियमित स्वास्थ्य परीक्षण र सहज रूपमा सुत्केरी हुने व्यवस्था मिलाउने सहमति भएको अस्पताल विकास समितिका अध्यक्ष रेग्मीले बताए ।

अध्यक्ष रेग्मीका अनुसार छानबिनका क्रममा लापर्बाही गरेको भेटिएकाले सो दिन औषधि वितरण कक्षमा रहेकी कर्मचारीलाई विभागीय कारबाही गरिनेछ ।