काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद्ले अदालतको आदेश विपरित नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएका विभिन्न खेल संघ÷संस्थाहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
कार्यकारी समितिको बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राखेपले अदालतबाट भएको अन्तरिम आदेश कार्यान्वयनको लागि परिषद्बाट भएको निर्देशन विपरिते निर्वाचनमा सहभागी भएका विभिन्न खेल संघ÷संस्थाहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकले ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भई तोकिएको समय भित्र स्पष्टीकरण पेश नगरेकोले कराते महासंघलाई ३ दिनभित्र आफ्नो उचित कारण सहित लिखित स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
त्यस्तै परिषद्ले दिईएको शर्त पालना गर्ने नेपाल राफ्टिङ एण्ड क्यानोइङ संघ, नेपाल बास्केटबल संघ, नेपाल आर्चरी संघ, नेपाल भलिबल संघ, नेपाल स्की संघ, नेपाल जुडो संघ, नेपाल गल्फ संघ र नेपाल बक्सिङ संघलाई सफाई पेश गर्न ३ दिन समय सिमासहित मौका दिने निर्णय गरेको राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।
त्यस्तै अदालतको आदेश विपरित विद्युतिय माध्यामबाट निर्वाचन गरेको भनिएको ओलम्पिक कमिटिको कुनै पनि बैठक लगायतका काम कारवाहीहरुमा राष्ट्रिय खेल संघ र महासंघहरुलाई सहभागी नगर्न÷नगराउन सार्वजनिक रुपमा सूचना जारी गर्ने निर्णय राखेपले गरेको छ । बैठकले नेपाल ओलम्पिक कमिटिको बैंक खाता रोक्का, वैदेशिक सहभागिता एवं अन्य कार्यक्रममा सहभागितामा रोक्का र भौतिक सम्पत्तिको अनाधिकृत रुपमा उपयोगमा रोक्काको लागि सम्बन्धित नियामक निकायहरुमा पत्राचार गर्ने निर्णय गरेको छ ।