काठमाडौँ– भारतको महाकुम्भ मेला स्नान गरेर फर्किदै गरेका तीन नेपाली तीर्थालुको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
रुपन्देहीको देवदहबाट गएका उनीहरु सवार गाडी फर्किने क्रममा युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी डिभाडरमा ठोक्किएर अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएका छन् ।
मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्मा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेले जानकारी दिए ।
यसैगरि, दुर्घटनामा परी घाइते हुनेहरुमा देवदह(९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको भारतीय प्रहरीबाट जानकारी आएको इन्स्पेक्टर न्यौपानेले बताए ।
गाडी चालक निदाएर दुर्घटना भएको हुनसक्ने भारतीय प्रहरीको प्रारम्भिक अनुमान गरिएपनि घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
फागुन ३ गते देवदहबाट महाकुम्भ मेला स्नान गर्न पाँचवटा गाडीमा ३५ जना भारत गएकोमा नेपाल फर्किने क्रममा चालकसहित ८ जना सवार उक्त गाडी दुर्घटना भएको हो ।