काठमाडौँ– भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) बाट क्याम्पस निकाला गरिएका विद्यार्थीलाई पुनः होस्टल फर्काउन त्यहाँका प्रहरी नै लागिपरेका छन् । विद्यार्थीमाथि ज्यादती गरिएको भन्दै चौतर्फी आलोचना भएपछि फर्काउन पहल गरिएको हो ।


ADVERTISEMENT


यद्यपि विश्वविद्यालयमा अध्ययनरत बुटवल स्थायी घर भएकी छात्रा प्रकृति लम्सालको मृत्यु भएपछि घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यवहार भोग्नु परेको भन्दै त्यहाँस्थित नेपाली विद्यार्थीले होस्टेल फर्किन ८ बुँदे शर्त अघि सारेका छन् ।


ADVERTISEMENT

# # #


ती यस प्रकार छन् –

१. न्याय सुनिश्चित गरिनुपर्छ । घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिनुपर्छ ।

२. प्रहरी अनुसन्धान गरिनुपर्छ । होस्टल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लंघन गरेकाले उनीहरूमाथि अनुसन्धान हुनुपर्छ ।

३. पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही हुनुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा पीडितले पटक–पटक पेश गरेका कागजातहरूको विस्तृत अनुसन्धान हुनुपर्छ । ती गुनासोहरू बेवास्ता गर्ने वा नजरअन्दाज गर्ने व्यक्तिहरूलाई जिम्मेवार ठहराई जागिरबाट हटाइनुपर्छ ।

४. नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्छ । छात्रावासभित्र केही महिला शिक्षकहरूले नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्दै उपहास गरेको व्यवहार पूर्णरूपमा अस्वीकार्य छ । यस्तो गैरजिम्मेवार रवैया देखाउने व्यक्ति कुनै शैक्षिक संस्थामा कार्यरत रहन नपाउने व्यवस्था गर्नुपर्छ ।

५. विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ । साथै, उनीहरूले आफ्नो जिम्मेवारी स्वीकार्नुपर्छ र कानुनी कारबाहीको सामना गर्नुपर्छ ।

६. सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्छ । फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि भएको घटनाको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गर्नुपर्नेछ । फुटेजमा विद्यार्थीहरूलाई आक्रमण गरिरहेका देखिएका व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गरिनुका साथै तिनलाई तत्काल जागिरबाट हटाइनुपर्छ ।

७. विद्यार्थीहरूको यातायात खर्च क्षतिपूर्ति गरिनुपर्छ । होस्टलबाट विद्यार्थीहरूलाई अज्ञात स्थानमा लगेर छोडिएको हुँदा उनीहरूले घर फर्किनका लागि गरेको खर्च कलेजले बेहोर्नुपर्छ ।

८. कलेज प्रशासनले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । साथै, कलेजले जारी गरेको प्रेस विज्ञप्ति (विद्यार्थीहरू स्वेच्छाले होस्टल छोडेको दाबी गरिएको) झूटो भएको स्वीकार गर्दै वास्तविकता (विद्यार्थीहरूलाई जबरजस्ती कुटपिट गर्दै बाहिर निकालिएको)लाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ ।

आईआईटी कलेजमा अध्ययनरत विद्यार्थीहरुका अनुसार त्यहाँ करिब १५ सय नेपाली विद्यार्थी अध्ययतरत थिए । त्यसमध्ये मृतक प्रकृति लम्साल पनि एक थिइन् । लम्सालले केही समयअघि मात्रै कलेजमा पढ्ने एक युवकले आफूलाई लामो समयदेखि दुर्व्यवहार गर्दै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई निवेदन पनि दिएकी थिइन् । तर, प्रशासनले गम्भीरतापूर्वक लिएको थिएन ।

आइतबार उनी कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेपछि विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन थालेका थिए । कलेजले उनले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको थियो । तर, त्यहाँ रहेको नेपाली विद्यार्थीले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै प्रदर्शन गरेपछि कलेज ती विद्यार्थीहरुलाई उल्टै क्याम्पस निकाला गरिएको थियो । जसकारण त्यहाँ रहेका केही विद्यार्थी आफ्नै पहलमा नेपाल फर्किन बाध्य भए भने केही अन्यत्र सरेका थिए ।

सो घटना सामाजिक सञ्जालमार्फत सोमबार भाइरल भएपछि कलेजसहित सुरक्षा निकायलाई घटनाबारे छानबिन गर्न  चौतर्फी दबाब भएको थियो । तसर्थ सोही क्रममा गएराति ११ बजे नेपाल फर्किन लागेका नेपाली विद्यार्थी पुनः होस्टेल फर्काउन प्रहरी टोली ट्रेन स्टेशन पुगेको हो ।