काठमाडौं – साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.०६ अंकले बढेर २ हजार ६५४ अंकमा पुगेको छ। बजार बढेसँगै कारोबार रकम पनि उकालो लागेको छ।
आइतबार कुल ७ अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो। आज अन्य समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ। उक्त समूहको सूचक १.३६ प्रतिशतले बढेको छ। यस्तै, बैंकिङ ०.३५, विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.३१, लगानी ०.४८, जीवन बीमा ०.८२ र लघुवित्त समूह ०.४८ प्रतिशतले बढेका छन्।
यता वित्त ०.५२, जलविद्युत् ०.१४, उत्पादन तथा प्रशोधन ०.२४, निर्जीवन बीमा ०.०२ र व्यापार समूह ०.९३ प्रतिशतले घटेका छन्। कारोबार भएका कम्पनीमध्ये १३७ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो।
मिडसोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। फर्स्ट माइक्रोफाइनान्स ७.७५, मैलुङखोला जलविद्युत् ५.६३ र मान्डु हाइड्रोपावर ५.४३ प्रतिशतले बढेका छन्।
त्यस्तै, स्नो रिभर्सको सेयर मूल्य ८.२३ प्रतिशतले घटेको छ। नारायणी डेभलपमेन्ट बैंक ६.९६, बोटलर्स नेपाल (बालाजु) ६.७५ र इन्फिनिटी लघुवित्त ५.६४ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा हाथवे इन्भेस्टमेन्ट नेपाल, हिमालयन डिस्टिलरी, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, कुमारी बैंक, सानिमा मिडिल तमोर र लक्ष्मी सनराइज बैंक अगाडि रहेका छन्।
































































