काठमाडौँ – नेपालमा सञ्चालित अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना रोकिएको छ । अमेरिकाका ४७औँ राष्ट्रिपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार नेपालमा अमेरिकी सहायताका सम्पूर्ण कार्यक्रम र एमसीसी राकिएको हो ।
एमसीसी ९० दिनका लागि स्थगन भएको एमसिसीले गत फागुन २ गते इ–मेलमार्फत् उक्त परियोजना रोकिएको जनाएको अर्थमन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशनले मिति २०८१/११/२ गतेको इ–मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसिसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको छ ।’
अमेरिकाले एमसीसीमार्फत ५० करोड अमेरिकी डलर अनुदान दिने र त्यसमा नेपाल सरकारले समेत १३ करोड अमेरिकी डलर गरी ६३ करोड अमेरिकी डलर (करिब ८३ अर्ब रुपैयाँ) लगानीमा परियोजना सूचारु भएको थियो ।
परियोजनाअन्तर्गत भारतीय सीमादेखि न्यू बुटवल, न्यू बुटवल–न्यू दमौली, न्यू दमौली–रातमाटे (नुवाकोट), रातमाटे–हेटौंडा र रातमाटे–लप्सीफेदी (काठमाडौं) ४ सय केभी प्रसारण खण्ड निर्माण गरिने सम्झौता थियो । त्यस्तै, रातमाटे, दमौली र बुटवलमा तीनवटा ४०० केभीका ठूला सबस्टेसनहरू निर्माण गर्ने सम्झौता थियो ।