काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र त्यसपछि विकसित समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गरिएको बताएकी छन् ।


ADVERTISEMENT


ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमत्री राणाले उक्त कुरा बताएकी हुन् । उनले घटनापछि तत्काली कुटनीति पहल गरिएको र घटनाको अनुसन्धान गरी दोषीलाई कारवाहीको प्रक्रिया सुरु भएको तथा त्यहाँ रहेका नेपाली विद्यार्थीको सुरक्षाको व्यवस्था मिलाएको बताएकी हुन् ।


ADVERTISEMENT

# # #


उनले भनिन्, ‘उक्त घटनापछि हामीले तत्कालै कूटनीतिक पहल सुरु गर्‍यौँ । मृतकलाई न्याय र दोषीमाथि कारबाहीको माग त छँदै छ, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित पठनपाठनको व्यवस्थाका लागि सम्बद्ध निकायहरूबीच समन्वय गर्‍यौँ । त्यसपछि विश्वविद्यालयले माफी मागेर विद्यार्थीलाई होस्टेल फर्काएको छ भने दुर्व्यवहार गर्ने कलेजका स्टाफलाई कारबाही गरेको छ ।’

उनले घटना अनुसन्धान र कारवाहीका थप विषयमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले समन्वय गरिरहेको उनले बताइन् ।

यतै परराष्ट्रमन्त्री राणाले विदेशमा अध्ययनरत नेपाल विद्यार्थीको बारेमा तथ्यांक संकलनका लागि आवश्यक व्यवस्थाको जरुरी देखिएको बताइन् । अप्ठ्यारो परेका बेला उद्धारका लागि सजिलो हुने भएकाले तथ्यांक राख्नु आवश्यक देखिएको उनको भनाई छ ।

“नेपालीहरू को कहाँ र कुन अवस्थामा छन् भन्ने कुरा परराष्ट्रलाई थाहा छैन, तर समस्यामा परेपछि र उद्धार गर्नुपर्ने भएपछि थाहा हुन्छ,” उनले भनिन्, “त्यसपछि लगत्तै उनीहरूको उद्धार गर्नका लागि परराष्ट्रसँग पर्याप्त जनशक्ति पनि छैन, यसकारण पनि समस्या भइरहेको छ ।”