काठमाडौँ – राष्ट्रियसभा सदस्य बामदेव गौतमले राजनीतिक पार्टी खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।


ADVERTISEMENT


राष्ट्रियसभाको आइतबारको बैठकको बिशेष समयमा बोल्दै गौतमले देशको उन्नति भएन, मलाई राजा बनाऊ भन्नु उचित नभएको भन्दै प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा शाहलाई सुझाव दिएका हुन् ।


ADVERTISEMENT

# # #


राजनीतिक पार्टीका नेताहरुले देशको विकास गरेनन् भन्ने शाहको टिप्पणीप्रति उनले निर्वाचित भइ संसदबाट प्रधानमन्त्री बन्न र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरि देखाउन चुनौती दिए ।

उनले भने, ‘तपाईंले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनु होस् र २०८४ को निर्वाचनमा भाग लिनुस् । निर्वाचित भएर नेपालको प्रधानमन्त्री भएर नेपालको चौतर्फी विकास गरी समृद्धि कायम गरेर देखाइदिनुस् ।’ तर, फेरि राजा बन्ने प्रयास भए पूर्वराजाको हैसियत समेत गुम्न सक्ने उनले बताए ।

उनले राजा वीरेन्द्रको हत्यापछि राजा बनेकाका ज्ञानेन्द्रलाई सबैले स्वीकारे पनि जनतालाई रैती बनाएर शासन गर्न खोजेपछि जनताले हटाइएको स्मरण गरे । ‘नेपालमा राजाको शासन राजाहरुले नै समाप्त गरेका हुन् । राजा वीरेन्द्रको हत्यापछि राजा भएका ज्ञानेन्द्रलाई नेपालका सबै राजनीतिक दलहरुले राजाका रुपमा स्वीकारेकै थिए ।’ उनले भने, ‘तर, राष्ट्रको मालिक भइसकेका नेपाली जनतालाई रैती बनाएर शासन गर्न चाहने पूर्वराजा ज्ञानेन्द्रलाई जनआन्दोलनको माध्यमबाट नेपाली जनताले गद्दिबाट जनताको स्तरमा झारिदिएका हुन् ।’

गौतमले मुलुकको अवस्थाका बारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्नेमा जोड दिए ।