काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमा माओवादीको छाप देख्नेले संविधानलाई च्यात्न खोजेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टीको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गर्दै प्रचण्डले संविधानको प्रस्तावनादेखि अन्त्यसम्म माओवादीको छाप देख्नेले संविधान मन नपराएको र च्यात्न खोजेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रचण्डले जनताको त्याग र बलिदानका कारण मुलुकको परिवर्तन सम्भव भएको भन्दै अहिले परिवर्तनमाथि नै प्रश्न उठाउन खोजिएको समेत बताए । दुई–दुई पटक सदन बिघटन गरेर संविधान च्यात्ने प्रयासलाई माओवादीले नै असफल बनाएको भन्दै अध्यक्ष प्रचण्डले अहिले पनि त्यही कसरत देखिन थालेको जिकिर गरे । उनले अहिलेको गठबन्धन सरकार असंवैधानिक र तानाशाही प्रवृतिको सरकार रहेको दोहोर्याए ।

अहिले नै सरकार फेरिहाल्ने कसरतमा माओवादी नरहेको उल्लेख गर्दै प्रचण्डले माओवादी पार्टी जनतामा केन्द्रित भएको बताए । उनले माओवादी एक्लै चुनाव लड्न नसक्ने प्रचार गरिएको भन्दै जनताको तागतको बलमा आफ्नै खुट्टामा उभिएर आगामी चुनाव लड्ने स्पष्ट पारे ।

झापाबाट सुरु भएको जनतासँग माओवादी तराई मधेस जागरण अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुने माओवादी केन्द्रले जनाएको छ । अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका सम्पूर्ण नेता कार्यकर्ता परिचालित भएका छन् ।

सो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिमजागरण अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ ।