काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालसम्म वर्तमान गठबन्धन जारी रहे माओवादीलाई नै फाइदा पुग्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले आफुहरु वर्तमान सरकार ढाल्ने पक्षमा नरहेको र २०८४ साल सम्म वर्तमान गठबन्धन जारी रहे आफुहरुलाई फाइदा पुग्ने बताएका हुन् । उनले आफुहरुलाई सरकारको लोभ नभएको बताउदै वर्तमान गठबन्धन अस्वभाविक, अपवित्र र कृत्रिम भएकाले आफ्नै कारणले अहिलेको सरकार ढल्ने दाबी गरे ।


ADVERTISEMENT

# # #


अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई थप सशक्त बनाई एउटै पार्टी परिवर्तन गर्ने गरी तयारी गरिरहेको पनि जानकारी दिए । उनले नेपालमा राजतन्त्र फर्किने सम्भावना हुँदै नभएकाले आफूले पूर्व राजाको अभिव्यक्तिलाई महत्व नदिएको जिकिर गरे । ‘पूर्वराजालाई मैँले कुनै महत्व दिएको पनि छैन । उनले बोले, मानिसहरुले प्रतिक्रिया दिइराखेका छन् ।’ उनले भने, ‘कसैले उनलाई नजिक बसेर केही पाउँला भन्ठानेर बोल्न लगाएका होलान्, त्यसको केही अर्थ छैन, यो देशमा फेरि राजतन्त्र फर्किने कुरा असम्भव छ ।’

अध्यक्ष प्रचण्डले सुशासन, स्थायीत्व र भ्रष्टाचार नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख अपरिहार्य रहेको धारणा राखे । वर्तमान संघिय लोकतान्त्रिक गणतन्त्रसंग मेल खाने शासकिय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएकोले यसमा आफुहरु लागि परेको उनले बताए ।

उनले आफुहरुको अभियान २०८४ मा बहुमत ल्याउने गरी संचालन गरिएको बताउदै अब एमाले र कांग्रेससंग कुनै पनि हालतमा गठबन्धन नहुने स्पष्ट पारे ।