– सिम्रन नापीत


ADVERTISEMENT


स्तनपान प्राकृतिक प्रक्रिया हो, जसले शिशुको स्वास्थ्यलाई सुदृढ मात्र गर्दैन, आमाको स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ। तर, नेपाल लगायत धेरै देशहरूमा सार्वजनिक स्थलमा स्तनपान गर्ने विषय अझै पनि सामाजिक र कानुनी रूपमा पूर्णरूपमा खुला छैन।


ADVERTISEMENT

# # #


नेपालमा स्तनपानसम्बन्धी कानसनी व्यवस्था नेपालको संविधानले आमाहरूलाई मातृत्व सुरक्षा प्रदान गरेको छ। साथै, बाल अधिकार ऐन, २०७५ ले स्तनपानलाई बालबालिकाको मौलिक अधिकारका रूपमा परिभाषित गरेको छ। स्वास्थ्य मन्त्रालयले कार्यान्वयनमा ल्याएको ‘एक्सक्लुसिभ ब्रेष्टफिडिङ’ नीतिले पहिलो ६ महिनासम्म शिशुलाई केवल आमाको दूध खुवाउनुपर्ने सिफारिस गरेको छ।

नेपालमा खुला रूपमा स्तनपान गर्दा के कुनै कान्नी कारबाही हुन्छ ?

नेपालमा खुला रूपमा स्तनपान गर्दा कुनै कानुनी सजाय तोकिएको छैन। कुनै पनि कानूनमा स्तनपानलाई अमर्यादित वा गैरकानूनी कार्यको रूपमा परिभाषित गरिएको छैन। तर, कतिपय अवस्थामा सामाजिक तथा सांस्कृतिक दृष्टिकोणका कारण आमाहरूलाई असहज परिस्थितिको सामना गर्नुपर्न सक्छ। यदि कसैले स्तनपान गर्ने महिलालाई दुर्व्यवहार गर्छ वा सार्वजनिक रूपमा अपमानित गर्छ भने यस्तो कार्य नेपालको फौजदारी संहिता २०७४ अन्तर्गत लैंगिक हिंसा वा दुर्व्यवहारको रूपमा मान्न सकिन्छ।

नेपालमा कार्यस्थलहरूमा स्तनपान कक्ष व्यवस्था गर्नुपर्ने कानूनी बाध्यता छैन, तर महिला तथा बालबालिका मन्त्रालयले आमाहरूको सुविधाका लागि यस्तो नीतिको आवश्यकताको चर्चा गरिरहेको छ।

अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र विदेशी अभ्यास

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र युनिसेफले स्तनपानलाई बच्चाको पहिलो अधिकारका रूपमा मान्यता दिएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले मातृत्व संरक्षण सम्बन्धी ऐनहरू मार्फत आमाहरूलाई प्रसूति विदा र स्तनपानका लागि अनुकूल कार्यस्थलको व्यवस्था गर्नुपर्नेसम्बन्धी निर्देशन दिएको छ।

विदेशी कानुनतर्फ हेर्दा,

– अमेरिका : केही राज्यहरूमा आमाहरूलाई सार्वजनिक स्थलमा स्तनपान गर्ने पूर्ण अधिकार छ।
– अस्ट्रेलिया : यहाँ स्तनपानको अधिकार मानव अधिकार ऐन अन्तर्गत संरक्षित छ।
– युरोपेली देशहरू : फ्रान्स, जर्मनी, स्वीडेन जस्ता देशहरूमा कार्यस्थलमा स्तनपान कक्ष अनिवार्य बनाइएको छ।

नेपाल सरकारको नेतृत्व र दायित्व नेपाल सरकारले मातृत्व सुरक्षा तथा स्तनपान प्रवर्द्धनका लागि विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ। तर, स्तनपानलाई संस्थागत रूपमा सुरक्षित गर्ने कानुनी व्यवस्थामा अझै सुधार आवश्यक छ। विशेषगरी सार्वजनिक स्थल र कार्यस्थलहरूमा स्तनपान कक्षको व्यवस्था गर्नु महत्त्वपूर्ण छ।

स्तनपान कक्ष किन आवश्यक छ ?

– स्तनपान कक्ष आमाहरूका लागि मात्र नभई समाजकै लागि आवश्यक सुविधा हो।
– कार्यस्थलमा स्तनपान कक्षले महिला श्रमिकहरूलाई सहज महसुस गराउँछ।
– सार्वजनिक स्थलमा यस्तो व्यवस्था हुँदा आमाहरूले आत्मविश्वासका साथ स्तनपान गर्न सक्छन्।
– शिशुको स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ।

नेपालमा सार्वजनिक स्थान, कार्यस्थल तथा अन्य संस्थानहरूमा स्तनपान कक्षको अनिवार्य व्यवस्था गर्न कानुनी आधार तयार गर्न आवश्यक छ। सरकार, निजी क्षेत्र, र आम नागरिकबीच सहकार्य गरी स्तनपान अधिकारलाई सुनिश्चित गर्नुपर्ने समय आएको छ। स्तनपान आमाको अधिकार मात्र होइन, शिशुको जीवन र स्वास्थ्यका लागि अति आवश्यक प्रक्रिया हो। समाजले यसलाई सकारात्मक रूपमा लिने हो भने आमाहरूले स्वतन्त्र र सहज रूपमा स्तनपान गराउन सक्नेछन्।

(लेखक सर्वोच्च अदालतका शाखा अधिकृत हुन् ।)