काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भूमिसम्बन्धी अध्यादेशमा सरकारको राम्रो नियत नदेखिएको बताएका छन् ।
भूमिसम्बन्धी अध्यादेशका विषयमा वौद्धिक पेशाकर्मी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा अध्यक्ष नेपालले बिचौलियालाई पोस्ने गरि भूमिसम्बन्धी अध्यादेश ल्याएको र यसमा सरकारको नियत राम्रो नदेखिएको बताएका हुन् ।
भूमिहिन सुकुम्वासीलाई जग्गामात्र बाडेर समस्या समस्या समाधान नहुने भन्दै उनले त्यसका लागि उपयुक्त निति अपनाएर सहज जीवनयापनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै अध्यक्ष नेपालले दुई–दुई पटक संसद बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीको पृष्ठभूमिका आधारमा पनि राम्रो कामका लागि अध्यादेश ल्याएको भन्नेमा आशंका उत्पन्न भएको धारणा राखे ।
“सरकार कानुन र विधिसम्मत ढङ्गबाट चल्नुपर्छ”, अध्यक्ष नेपालले भने, “सरकारले सही उद्देश्यले अध्यादेश ल्याइएको भनेर आश गर्ने ठाउँ छैन ।”
उनले प्रक्रिया मिलेर ल्याइएको अध्यादेशलाई समर्थन गर्न नसक्ने स्पष्ट पार्दै फिर्ता लिन सुझाव दिए । अध्यक्ष नेपालले संविधान संशोधनका नाममा अर्को गठबन्धन ल्याएको तर प्रधानमन्त्रीले त्यसलाई २०८७ सालसम्म टार्न खोजेको बताए ।
अध्यक्ष नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालको निर्णय स्वागतयोग्य रहेकाले दुविधामा नपर्न सुझाव दिए । उनले वर्तमान सरकार देशका लािग ठूलो समस्यामा रुपमा रहेको बताए ।