काठमाडौँ – प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ ।
आइतबार दाङको लमहिस्थित देउखुरी क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनीले बागमतीलाई ४८ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२ दशमल ५ ओभरमा ६७ रनमा समेटियो ।
बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेश ३२.४ ओभरमा १ सय १५ रनको योगफलमा समेटिएको थियो । लुम्बिनीका लागि आकाश त्रिपाटीले सर्वाधिक ३३ रन जोडे ।
त्यस्तै भैरहवाको एक्स्ट्रा टेक ओभलमा भएको खेलमा कोशी प्रदेशले गण्डकीलाई ९ विकेटले पराजित गर्यो । ३२ रनको झिनो लक्ष्य कोशीले ८ दशमल २ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि भैरहवाको टस जितेर ब्याटिङ रोजेको गण्डकी २० दशमलव ४ ओभरमा ३१ रनमा अल आउट भएको थियो ।
त्यस्तै रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा भएाके खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्यो । कर्णालीले दिएको १ सय ९० रनको लक्ष्य एपिएफले ३९ दशमलव २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै सर्वाधिक ७० रन जोडे । त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली ४७ ओभरमा १ सय ८९ रनमा समेटिएको थियो । कर्णालीका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ४७ रन जोडे ।