काठमाडौँ – उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिदै मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको र मुलुकभित्रको उत्पादन करिव हजार मेगावाट रहेकाले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था देखिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


मन्त्री खड्काले यसअघि लोडसेडिङको अन्त्य भएको भनिए पनि उद्योगमा लोडसेडिङ कायमै रहेको जिकिर गरे । भारतबाट विद्युत आयात गरेर धान्न सक्ने अवस्था अव नरहेको उनको भनाइ छ ।

‘हामीसँग ३ हजार ५ सय मेगावाट विद्युत छ । तर, हिउँदमा १ हजारमा झर्छ । ३५ सय मेगावाट विद्युत हुँदा पनि हामीले उद्योगधन्दालाई रातीको समयमा पनि राम्ररी दिन सकेको अवस्था छैन ।’ उनले भने, ‘अहिले हामीलाई बत्ती पुगेको छैन । हिजो पनि लोड सेडिङ थियो । आज पनि छ । घरमा बत्ती दिने गरिएको थियो, उद्योगमा कटौती गरिएको थियो । आज पनि त्यही छ । अब साँझमा घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’

मन्त्री खड्काले वर्षायाममा उत्पादित ३५ सय मेगावाट मध्ये विद्युत प्राधिकरणले ७ सय मेगावाट विद्युत मात्र उत्पादन गरेको र बाँकी सवै विद्युत निजी क्षेत्रले उत्पादन गरेको जानकारी दिए । निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरिएकाले लोडसेडिङ हटेको जस्तो देखिएको भन्दै उनले उज्यालो नेपालको नायक कुलमान घिसिङ नभएको तर्क गरे ।

उनले कुलमान घिसिङले सार्वजनिक गरेको प्राधिकरणको नाफाको विषयमा पनि सत्यता नरहेको जिकिर गरे । उनले चमेलियामा काम गरेको पैसा नतिरेका कारण विद्युत प्राधिकरणको बैंक खाता रोक्का भएको बताए । बैंक खाता रोक्का हुँदा पनि मन्त्रालयलाई कुनै जानकारी नआएकाले आफूले आवश्यक कागजात माग गरेको उनले बताए ।