–जी नेपाल
कित्ता छुट्याउन गाह्रो भइसक्यो,
यहाँ गणतन्त्रवादीहरू राजा झैँ देखिन्छन्,
राजावादीहरू क्रान्तिकारी झैँ लाग्छन्।
हिजोका क्रान्तिकारीका बोली खिइसके,
तर राजावादीहरू बिस्तारै क्रान्तिकारीझैँ देखिन थालेका छन्।
हरेक पुस्ताले स्थायित्वका लागि लडेको भन्छ,
गाँस, बास, कपास—कति राम्ररी सुनिन्छ!
तर गणतन्त्रमा किन हो कुन्नि,
आसपासे र आफन्त मात्रै मोटाउँछन्।
हात्ती छाप चप्पलहरू लुइस भिटोन बन्छन्,
रेल र जहाजहरू सपनामै कुद्छन्,
तर विपनामा उही घाँसदाउरा गर्ने मान्छे
घिरलिङबाट खस्छ, अनि मर्छ।
न त ऊ राजावादी थियो,
न त गणतन्त्रवादी !
ऊ त केवल खान नपाउने क्रान्तिकारी थियो,
जो गाँसका लागि संघर्ष गरिरहेथ्यो।
खै किन हो,
आजभोलि सत्ताका लागि हरेकले क्रान्ति गर्ने भन्छन्,
तर उद्देश्य केवल आफ्नै परिवारको जीवनस्तर सुधार्ने हुन्छ।
केही जनताले थोरै पैसा र पेट्रोलकै भरमा
फेरि ती क्रान्तिकारीहरूलाई मत दिन्छन्।
म के देख्दैछु आजकाल !
क्रान्तिको धार भुत्ते हुँदै गएको छ,
तर जो पहिले भुत्ते थिए,
उनीहरू धारिलो बन्दै गएका देखिन्छन् !