काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताएका छन् ।
सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरुसँगको छलफलका क्रममा मन्त्री दाहालले नियम विपरीत सञ्चालन भई रहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृहमन्त्रालयसँग समेत समन्वय गरिने बताएका हुन् । उनले मापदण्ड विपरीतका सवारी साधनलाई कडाई गर्ने बिषयमा प्रहरीका तर्फबाट असयोग भएको गुनासो गरे ।
यसैगरि सडक निर्माणका क्रममा सवारी साधन अवरोध हुन नदिन वैकल्पिक रुट तथा डाईभर्सनको व्यवस्थापनलाई समेत प्राथमिकता दिईने उनको भनाई छ । काठमाडौ र पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग मर्मतलाई तिव्रता दिईएको भन्दै उनले वैकल्पिक सडकको रुपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाईएको उल्लेख गरे । स्वचालिक प्रणालीबाटै भाडादर कायम गर्नेमा सरकारात्मक रहेको उनले जनाए ।
छलफलका क्रममा यातायात व्यवसायीहरुले बीपी राजमार्ग, दाउन्ने सडक खण्ड लगायतका सडक समयमा नै निर्माण नभए यातायात सञ्चालमा कठिन हुने भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।