काठमाडौँ– नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार बन्ने दिशातर्फ देश अघि बढ्ने बताएका छन् ।
आइतबार चितवनमा भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले अहिले नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढ्ने बताएका हुन् । उनले अहिलेको नयाँ अनुभवका आधारमा आफुले ठूलो दल काग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेको स्पष्ट पारे ।
प्रचण्डले सरकारतर्फ माओवादीको ध्यान नरहेपनि अहिलेको सरकार धेरै अगाडी जान सहज छैन भन्ने परिस्थीतिले देखिएको जिकिर गरे । उनले चौतर्फी रुपमा सरकारप्रति असन्तुष्टि र आवेग देखिएको र त्यसको असर सडकमा देखिएकाले नयाँ बर्षले केहि न केहि निकास लिएर आउने उल्लेख गरे ।
त्यस्तै प्रचण्डले २०८१ साल समग्रमा धेरै उत्साह र धेरै निराशा नभएको बताए । उनले राम्रा काम गर्न, राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्नका लागि, आत्मालोचना गर्नका लागि र जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने नयाँ संकल्प गर्नको लागि पुरानो वर्षले आधार दिएको उल्लेख गरे ।