काठमाडौँ – ह्याम्स अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर ‘स्वास्थ्य सबैको सरोकार’ भन्ने नाराका साथ सामाजिक उत्तरदायित्व अन्तर्गत संवाद तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।
“स्वास्थ्य सबैको सरोकार : संवाद श्रृंखला – २, २०८१” शीर्षकमा आयोजना गरिएको उक्त कार्यक्रम चैत २९ गते शुक्रबार सम्पन्न भएको हो। कार्यक्रमको उद्देश्य स्वास्थ्य क्षेत्रमा रहेका विविध समस्या र चुनौतीहरूलाई पहिचान गरी समाधानका लागि सरोकारवालाबीच समन्वय र संवाद कायम गर्नु रहेको थियो।
कार्यक्रमको पहिलो सत्रमा ‘गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच’ विषयमा वरिष्ठ हृदय रोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले प्रस्तुति दिएका थिए। उनले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा अझै सबै नागरिकसम्म पुग्न नसकेको भन्दै नीति, पूर्वाधार र जनशक्तिमा सुधार आवश्यक रहेको उल्लेख गरे।
दोस्रो सत्रमा ‘नागरिकको स्वास्थ्यमा लगानी’ विषयमा जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारीले प्रस्तुति दिएका थिए। उनले सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यमा दीर्घकालीन लगानीले मात्र जनस्वास्थ्यमा प्रभावकारी सुधार ल्याउन सकिने धारणा व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि उप(प्रधान तथा शहरी विकास मन्त्री माननीय श्री प्रकाशमान सिंहले दुवै विषयमा धारणा राख्दै, सरकार नागरिकको स्वास्थ्यमा गम्भीर रहेको र आगामी दिनमा यस्ता संवाद श्रृंखलाबाट प्राप्त सुझावहरू नीति निर्माणमा उपयोग गरिने बताए।
कार्यक्रममा अस्पतालका अध्यक्ष रामशरण भण्डारीले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने समस्याहरूलाई गहिरो रूपमा छलफल गरी व्यवहारिक समाधान खोजिनु पर्नेमा जोड दिएका थिए।
कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञ, नीति निर्माताहरू, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
ह्याम्स अस्पतालको यो पहलले नीति निर्माण, सेवाको गुणस्तर र नागरिकको स्वास्थ्यप्रति जिम्मेवारीमा नयाँ बहसको ढोका खोल्ने विश्वास गरिएको छ।