भरतपुर– चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ । किसानबाट सङ्कलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो ।
भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले फागुन महिनासम्म दैनिक ४५ हजार लिटर दूध प्रशोधन गरेको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले जानकारी दिए । गर्मी बढ्न थालेपछि दूध सङ्कलन घटेको छ । गत चैतमा दैनिक २५ हजार लिटरसम्म दूध सङ्कलन भएको उहाँले बताए । “गर्मी बढ्न थालेपछि दहीको खपत बढी हुन्छ”, उनले भने, “पाउडर र बटर उत्पादनका लागि सङ्कलन हुने दूध पनि घट्छ ।”
पाउडर र बटर बनाउनका लागि मेचीदेखि महाकालीसम्मका डेरीबाट दूध सङ्कलन हुने गरेको छ । “जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्”, उनले भने, “दश दिनसम्म यही ‘कोल्डस्टोर’मा राखिदिने गरेका छौँ ।” पाउडर दूधे आइसक्रिम र बिस्कुट उद्योगमा खपत हुने गरेको छ ।
विसं २०७२ को भूकम्पपछि तीन वर्ष बन्द उद्योग पुनःसञ्चालन भएपछि उत्पादन भएको दूध बिक्री नहुने अवस्थाको अन्त्य भएको छ ।
जिल्ला दूध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूध प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा किसान लाभान्वित भएका बताए ।