काठमाडौँ–— नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले सत्तारूढ गठबन्धनमै रहेका केही नेताहरूको व्यवहार प्रतिपक्षजस्तै देखिन थालेको टिप्पणी गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै विष्टले अहिलेको राजनीतिक परिस्थितिमा केही नेताहरूबाट आएको वक्तव्यले सरकारको साख कमजोर बनाउने खतरा रहेको भन्दै आलोचना गरे।
‘कहिलेकाहीँ सत्तामा रहेकाहरूको टिप्पणी सुन्दा प्रतिपक्षमा रहेको जस्तो लाग्छ’, विष्टले भने, ‘यस्तो अवस्थाबाट माथि उठेर गठबन्धन सरकारलाई मर्यादित ढंगले अघि बढाउन आवश्यक छ।’
उनले हिंसात्मक गतिविधिबाट मुलुकलाई पछाडि धकेल्ने प्रयास भइरहेको भन्दै सरकार त्यसप्रति सजग रहनुपर्ने बताए। ‘हिंसात्मक गतिविधिबाट जनताको अधिकार कमजोर बनाउने कोसिस भइरहेको छ’, उनले भने, ‘सरकारले खुट्टा नकमाई कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाउनु पर्छ।’
विष्टले लोकतन्त्रमा सरकार र नेतृत्व परिवर्तन जनताको अधिकार भएको स्पष्ट पार्दै जनताले निरंकुशता होइन, समस्याको समाधान खोजिरहेको धारणा व्यक्त गरे।
उनले हाल सरकार ढल्दैछ भन्ने हल्ला निराधार भएको बताउँदै यसरी निराशा र अस्थिरता फैलाउने काम नगर्न सबै पक्षलाई आग्रह गरे। ‘सरकार गयो गयो भनेर निराशा र भ्रम फैलाउने प्रयास हुँदैछ’, विष्टले भने, ूतर त्यो सत्य होइन। दुई दलबीच आपसी समझदारी र सहमतिमा सरकार चलिरहेको छ। कुनै समस्या भए राजनीतिक संयन्त्रमार्फत समाधान गर्न सकिन्छ।’
विष्टले सात बुँदे सहमति इमानदार ढंगले कार्यान्वयन भइरहेको उल्लेख गर्दै गठबन्धन स्थायित्व र सहकार्यमा अगाडि बढिरहेको जिकिर गरे।