काठमाडौँ – राजधानीको नयाँबानेश्वरमा आन्दोलनरत शिक्षक र सुरक्षाकर्मीबीच झडप भएको छ।
निजामती सेवा विधेयकका विरुद्ध आन्दोलन गर्दै आएका शिक्षकहरु शनिबार बिजुलीबजार–नयाँबानेश्वर सडकखण्डमा भेला भई प्रदर्शनमा उत्रिँदा प्रहरीले रोक्न खोज्दा स्थिति तनावग्रस्त बनेको हो।
शिक्षकहरुले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेर रोक्ने प्रयास गर्यो। तर, अवस्था नियन्त्रणबाहिर जाँदा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। भिड तितरबितर गर्न प्रहरीले लाठीचार्जसमेत गरेको थियो।
प्रदर्शनकारी शिक्षकहरू सरकारको प्रस्तावित निजामती सेवा ऐन विरुद्ध लामो समयदेखि आन्दोलनमा छन्। उनीहरूले विधेयक शिक्षकविरोधी रहेको भन्दै खारेजको माग गर्दै आएका छन्।
झडपका क्रममा केही शिक्षक र सुरक्षाकर्मी सामान्य घाइते भएका छन्। घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ र स्थिति नियन्त्रणमा लिइएको जनाइएको छ।
सुरक्षाकर्मीले आन्दोलन संयमित ढंगले गर्न आग्रह गरेका छन् भने शिक्षक नेताहरूले सरकारले वार्ताको बाटो खुला नगरेसम्म आन्दोलन जारी रहने बताएका छन्।