काठमाडौँ– ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कार दुर्घटना भएको छ ।
तीव्र गतिमा रहेको एक कार विद्युत् पोलमा ठोक्किँदा पोल सडकमा लडेको छ, जसकारण सो क्षेत्रको सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। दुर्घटनामा कारमा सवार तीन जना घाइते भएका छन्।
घाइतेमध्ये म्याग्दीका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक, र सोही ठाउँका २९ वर्षीय मोसेफ लामिछाने छन्। तीनै जनाको उपचार पाटन अस्पतालमा भइरहेको छ। ललितपुर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीका अनुसार विशाल विकको अवस्था गम्भीर छ र उनी हाल आईसीयूमा उपचाररत छन्।
घटनाबारे जानकारी दिँदै प्रहरीले राति ११ बजेर १० मिनेट जाँदा ललितपुर महानगरपालिका–२८ हात्तीवनस्थित सडकमा बा १५ च ७६५२ नम्बरको कार अनियन्त्रित भई सडक छेउको ११ हजार भोल्ट विद्युत् प्रवाह हुने पोलमा ठोक्किएको जानकारी दिएको छ। ठक्करका कारण कारको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रारम्भिक अनुमान अनुसार गाडी अत्यधिक गतिमा रहेकाले नियन्त्रण गुमाउँदै दुर्घटना भएको हो।
सडकको बीच भागमै विद्युत् पोल लडेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। नेपाल विद्युत् प्राधिकरणका प्राविधिक, ललितपुर महानगरपालिकाका नगर प्रहरी र अन्य सहयोगी टोली मिलेर पोल हटाउने प्रयास जारी छ। सम्भावित थप दुर्घटना रोक्न र विद्युत् आपूर्ति पुनः सुचारु गर्न प्रयास तीव्र पारिएको जनाइएको छ।
सुरक्षाका लागि सडक आसपासका क्षेत्रलाई घेराबन्दी गरिएको छ भने स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।