कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित मुक्त कमैया शिविरमा बस्ने परदेशनी चौधरीको दैनिकी पाहुनाको सेवा सत्कारमै बित्ने गर्छ । पाहुनालाई थारु समुदायको परम्परागत मौलिक खानाको जोहो गर्ने, पकाउने, खुवाउनमै दिन बितेको उनलाई पत्तै हुँदैन ।


ADVERTISEMENT


उनले नौ वर्षदेखि यही काम गर्दै आएकी छन् । उनी जस्तै मुक्त कमैया परिवारका पाँच महिला मिलेर गाउँमा विजयसाल घरबास सञ्चालन गरेका छन् । घरबास सञ्चालन गरेपछि उनीहरूले पैसाका लागि श्रीमानको मुख ताक्नु परेको छैन ।


ADVERTISEMENT

# # #


घरबासमा विदेशीदेखि स्वदेशी पाहुना थारु परिकार चाख्न आउँछन् । घरबासमा आउने विदेशीको तुलनामा स्वदेशी पाहुनाको सङ्ख्या अधिक रहने उनी बताउँछिन् । थारु समुदायको मौलिक खान्कीका रूपमा पतौला, मिसौला, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिका माछा, ढिक्री, अन्तीधानको भात, हरियो सागसब्जी, लसुनको चटनी, घोँगीलगायत परिकार पाहुनाको रोजाइमा पर्ने गर्दछ ।

‘घरबासको कमाइ पाहुनामा निर्भर हुन्छ’, चौधरीले भनिन्, ‘कुनै महिना धेरै कमाइ हुन्छ, कुनै महिना थोरै ।’ औसतमा मासिक ३० हजारदेखि ३५ हजारसम्म कमाइ हुने गरेको उनले बताइन् । पाहुना बस्नका लागि थारु शैलीका सुविधा सम्पन्न पाँच घर निर्माण गरिएका छन् । एक घरमा दुईदेखि चार जनासम्म पाहुना राख्न सकिने व्यवस्था छ ।

‘घरबासमा पाहुना आएमा पालो मिलाएर राख्छौँ’, उनले भनिन्, ‘पाहुनाको सेवा सत्कारमा एकले अर्कालाई सहयोग गर्छौं ।’ उनका अनुसार पाहुनाको मागअनुसार परम्परागत पहिरन र आभूषणमा सजिएर पौराणिक नृत्य सखिया, झुम्रा, हुरदङ्गवा, लठ्ठि, दिन नचवालगायत देखाउने गर्दछन् । त्यसका लागि नृत्य टोलीनै गठन गरिएको छ । नृत्य देखाए बापत् एक हजार ५०० देखि तीन हजारसम्म शुल्क लिने गरिएको छ ।

उनीहरूले प्राङ्गारिक मल प्रयोग गरी उत्पादन गरेको तरकारी, अन्ती धानको चामल, स्थानीय जातका कुखुरा, बङ्गुर घरबासमा बस्न आउने पाहुनालाई खुवाउने गर्दछन् । तरकारी, अन्न उत्पादनसँगै कुखुरा र बङ्गुरपालनमा घरका पुरुषले सहयोग गर्ने गरेको चौधरीले बताउइन् ।

घरबास सञ्चालित गाउँमा नगरपालिकाले प्रवेशद्वार र गोलघर निर्माण गरेको छ । वडा कार्यालयले प्रत्येक घरमा ‘वाइफाइ’ जडान गरेको छ, भने ताल नामक गैरसरकारी संस्थाले घरबास सञ्चालकलाई फर्निचर र होर्डिङ बोर्ड राख्न सहयोग गरेको छ ।

घुम्ने इच्छा भएका पाहुनालाई नजिकैको जनहित महाकाली सामुदायिक वनभित्रको सिस्ने सिमसार क्षेत्रमा घुमाउने प्रबन्ध गरिएको घरबास सञ्चालक राजकुमारी चौधरीले बताइन् । धेरै पाहुना घरबासमा बसेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न जाने गरेका छन् । घरबासमा आउने पाहुना फर्किँदा विजयसालका भाँडा खरिद गरेर लैजाने गर्छन् । घरबासमा संलग्न महिलाले बहुऔषधीय गुणयुक्त विजयसाल संरक्षण गर्दै आएका छन् ।

सामुदायिक वनसँग समन्वय गरेर रोपिएका विजयसालका विरुवा, रुखका ‘प्लट’ पाहुनालाई अवलोकन गराउन छुटाउँदैनन् । २०७३ मा विधिवत रूपमा घरबास दर्ता गरी सञ्चालनमा ल्याइएको हो ।