आदमपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आदमपुर एयर बेसमा भारतीय सुरक्षाफौजको प्रशंसा गरेका छन् ।
पाकिस्तानमा रहेका आतंकवादी अड्डामाथि कारबाहीस्वरूप सम्पन्न अप्रेशन सिन्दूरको सफलतापछि उनले सेना, नौसेना, वायुसेना र बीएसएफको सहास र समन्वयको प्रशंसा गरेका हुन् । सो क्रममा मोदीले अब भारतले आतंकवाद वा आणविक धम्की कदापि नसहन स्पष्ट पारे ।
‘अप्रेशन सिन्दूर’ सम्बन्धी भारतीय सेनाले संयमता, सटीकता र तीव्रताका साथ कारबाही गरेको भन्दै देशवासीको गौरव बढाएकोउनको भनाई छ । “तपाईंहरूले शत्रुको भूमिमा पसेर आतंकको जरा समाप्त गर्नुभयो,” भन्दै उनले सेना समक्ष कृतज्ञता व्यक्त गरे । पाकिस्तानले नागरिक विमान प्रयोग गरेर ढाल बनाउने कोसिस गरे पनि भारतीय वायुसेनाले सूक्ष्मतापूर्वक लक्ष्यविनाश गरेको उनले उल्लेख गरे ।
मोदीले अप्रेशन सिन्दूरलाई भारतको नयाँ सुरक्षा रणनीतिको प्रतीकको रूपमा प्रस्तुत गरे । सो क्रममा उनले स्पष्ट तीन सिद्धान्तहरू समावेश गरे— ‘भारत आतंकको जवाफ आफ्नै ढंगले दिनेछ, आणविक धम्की सहन गर्ने छैन, र आतंकवादी तथा उनीहरूलाई संरक्षण दिनेहरूलाई एउटै दृष्टिले हेर्नेछ।’
आधुनिक रक्षा प्रणाली ‘आकाश’ र ‘एस–४००’को प्रशंसा गर्दै प्रधानमन्त्रीले पाकिस्तानका ड्रोन र मिसाइलहरू भारतको भूमिमा प्रवेश गर्न नपाउँदै ध्वस्त पारिएको उल्लेख गर्नुभयो। ‘तपाईंहरूको सतर्कता र प्रविधिमाथिको कौशल अद्वितीय छ’, उनले सुनाए ।
भारत शान्तिको पक्षमा भएपनि मानवतामाथि आक्रमण गरिएको खण्डमा त्यसबापत् कडा जवाफ फर्काने उनले स्पष्ट पारे ।