काठमाडौँ – नेपाली कांग्रेसका सांसद मोहन बस्नेत टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएलगत्तै स्वतः निलम्बनमा परेका छन्।


ADVERTISEMENT


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ अर्बभन्दा बढी बिगो माग गर्दै बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।


ADVERTISEMENT

# # #


सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका बस्नेतमाथि नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा आर्थिक अनियमितता र पदीय दुरुपयोग गरेको आरोप लागेको छ। आयोगले उनीसहित पूर्व कानुन सचिव धनराज ज्ञवाली र अन्य उच्च पदस्थ अधिकारीहरूलाई मुद्दामा प्रतिवादी बनाएको छ।

अख्तियार ऐन, २०४८ को दफा १७ अनुसार सार्वजनिक पदमा बसेका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएमा उनी स्वतः निलम्बित हुने प्रावधान छ। सोही आधारमा बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको हो।

आयोगका अनुसार तत्कालीन सञ्चारमन्त्री रहेका बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणको औपचारिक प्रस्ताव र तयारीबिना नै व्यक्तिगत पहलमा टेरामक्स प्रविधि खरिद प्रक्रिया अघि बढाएका थिए। उनले बजेट र कार्यक्रममा नरहेको योजना एकलौटी रूपमा समावेश गरेर सार्वजनिक संस्थालाई हानि पुर्‍याएको आरोप छ।

आयोगले आरोपित सबै जनाविरुद्ध जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको बिगो माग गर्दै कैद सजायको माग पनि गरेको छ। मुद्दा हाल विशेष अदालतमा विचाराधीन अवस्थामा छ।