काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले समाजवादी मोर्चाको कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन् ।
निर्मल लामा स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसका चुनौती विषयक विचार गोष्ठीमा खनालले कोठा कोठामा कार्यक्रम गरेर समाजवादी मोर्चाको औचित्य पुष्टि हुन नसक्ने भन्दै समाजवादी कार्यक्रम गर्नुपर्ने बताएका हुन् ।
समाजवादी मोर्चाको क्रियाकलाप आफुलाई चित्त नबुझेको उनले बताए । कतिपयलाई बामपन्थीलाई समाजवादी नामको मोर्चा मन नपरेको भन्दै उनले बाम मोर्चा बनाए अझै धेरै दल समावेश हुन सक्ने धारणा राखे ।
समाजवादी यात्रालाई अघि बढाउन सडकमार्फत जनतालाई एकीकृत गर्नुपर्ने उल्लेख गर्दै खनालले संसदीय संघर्षमात्रै भए संसदवादमा टुङ्गीने उल्लेख गरे । ‘मेरो पार्टी लगायतले समाजवादी मोर्चा भनेर बनाउनु भएको छ । त्यो मोर्चाका कार्यक्रम के छन् भन्दा कहिलेकाहीँ कोठाकोठामा भेला हुने, एटा कार्यक्रम गर्ने, भाषण गर्ने हिंड्ने ।’ उनले भने, ‘मेरै पार्टी त्यसमा भए पनि मलाई चित्त बुझिरहेको छैन । समाजवादी मोर्चा हुनका लागि समाजवादी कार्यक्रम हुनुपर्ने होला । खोई कार्यक्रम, के गर्छ त्यो मोर्चाले ?’
त्यस्तै उनले कम्युनिष्ट पार्टीलाई क्रान्तिकारी कार्यदिशाका आधारमा पुनर्गठन गर्नुपर्नेमा जोड दिए । खनालले वामपन्थी एकता नभए ८४ को निर्वाचनमा बामपन्थी दलहरुको अवस्था थप कमजोर हुने देखिएको उल्लेख गरे ।
उनले राजावादीहरुले संविधानलाई कुल्चिएर हिंडिरहेको अवस्थामा क्रान्तिकारी पार्टीहरुले संसद र गणतन्त्रलाई उपयोग गर्छु भन्न सक्नुपर्ने बताए ।