बर्दिवास– महोत्तरी जिल्लाको बर्दिवासमा निर्मित ‘एकीकृत नमुना बस्ती’ आज मुसहर समुदायलाई हस्तान्तरण गरिएको छ ।


ADVERTISEMENT


सीताराम कट्टेल र कुञ्जना घिमिरे क्रमशः (धुर्मुस सुन्तली) फाउन्डेसनले यहाँका ५० घरधुरी मुसहर समुदायका लागि निर्माण गरेको उक्त एकीकृत बस्ती नेपाली हास्यकला क्षेत्रका प्रसिद्ध कलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य) ले आज संयुक्तरुपमा एकिकृत नमुना मुसहर बस्ती व्यवस्थापन समितिका अध्यक्ष बिल्टु सादा मुसहरलाई बस्तीको साँचो हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि एकीकृत बस्तीको मुख्यद्वार खोल्न महजोडीसँगै नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी सहभागी थिए । सोहि अवसरमा बस्तीभित्र निर्मित भ्यू–टावर मुख्यसचिव डा सोमलाल सुवेदी र मुसहरका कूलदेवता भूइँयाँमहाराज तथा दिनाभद्रीको मन्दिर एवम् बाल उद्यान धुर्मुस–सुन्तलीका मातापिता (बोगराज कट्टेल, कमला कट्टेल एवम् हरिप्रसाद घिमिरे, सीतादेवी घिमिरे) ले संयुक्तरुपमा मुसहर समुदायलाई हस्तान्तरण गरेका थिए।

सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले राष्ट्र निर्माण अभियानमा हास्यकला क्षेत्रकै धुर्मुस–सुन्तलीले तीन वटा बस्ती बनाएर ‘आँटे सकिन्छ’ भन्ने उदाहरण दिएको बताए । त्यस्तै नेपाल सरकारका मुख्य सचिव डा सुवेदीले भर्खरै हस्तान्तरण भएको बस्तीका मुसहर समुदायको शिक्षा, स्वास्थ्य र अन्य अवसरका लागि फाउन्डेसनसँग समन्वय गरेरअघि बढ्ने प्रतिबद्धता जनाए ।

 मुसहर वस्तीका वासिन्दालाई संयुक्त रुपमा साँचो हस्तान्तरण गर्दै महजोडी तथा धुर्मुस -सुन्तली । तस्बीर : रातोपाटी 

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति डा जीवराज पोखरेलले गरिबी र अशिक्षाले पछि परेका मुसहर समुदायको आर्थिक अवस्था उकास्न तत्काल आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । समारोहमा फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि देश–विदेशबाट रु ६ करोड ३६ लाख ३९ हजार सहयोग प्राप्त भएको र तीमध्ये रु पाँच करोड चारलाख खर्च भएको जानकारी दिए।

बस्तीमा ५० घरधुरी मुसहरका लागि खानेपानी धारा, शौचालय र सडक सुविधासहितको दुईतले पाँचकोठा भएको पक्की घर, भ्यू–टावर, बाल उद्यान, मन्दिर, पक्की सडक, सार्वजनिक शौचालय, सामुदायिक भवन र बस्तीका चारैतिर पर्खाल निर्माण गरिएको छ । त्यसैगरी यसअघि मुसहर बस्तीभित्रै बसोवास गर्दै आएका तीन अन्य जाति समुदायका घरधुरीका लागि छुट्टै जग्गाको व्यवस्था गरेर घर बनाइएको न्यौपानेले जानकारी दिए ।

सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)फाउन्डेसनले यहाँका ५० घरधुरी मुसहर समुदायका लागि निर्माण गरेको बस्ती ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हास्यकलाकार बसुन्धरा भुषाल, नायक शिव श्रेष्ठलगायतकाले बस्ती निर्माण गरेर मुसहर समुदायलाई हस्तान्तरण गरेकोमा धुर्मुस–सुन्तलीलाई धन्यवाद दिए ।