काठमाडौं–राष्ट्रपति निर्वाचनमा फौजदारी अभियोगमा पक्राउ परेका रेशमलाल चौधरी पनि मतदाता रहेका छन् । उनी कैलाली १ बाट प्रतिनिधिसभा निर्वाचित सदस्य हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामवलीको क्रमसंख्या २५६ मा उनको नाम छ । उनको मतदाता नम्बर ३३८४११४ हो ।


ADVERTISEMENT


आयोगबाट निर्वाचित भएको प्रमाणपत्र नबुझेका चौधरीले संसद्मा सांसदको हैसियतमा पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरेका छैनन् । निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको राष्ट्रपतिको मतदाता नामावलीमा उनको नाम राखिएको छ ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगले संघीय संसद् सचिवालयसँग संघीय संसद्का सदस्यहरूको नामावली माग गरेपछि सचिवालयले सोमबार बिहान नामावली पठाएको थियो । सोमबार नै निर्वाचन आयोगले मतदाता नामावली प्रकाशित गरेको थियो । संसद् सचिवालयले पठाएको नामका आधारमा नामावली तयार गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए।

‘राष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्यले पनि मतदान गर्ने हुँदा आयोगले संसद्ले पठाएको नामअनुसार आयोगले मतदाना नामावली सार्वजनिक गर्छ,’ प्रवक्ता ढकालले भने । संसद् सचिवालयले फौजदारी मुद्दामा पक्राउ परेका कारण चौधरीलाई शपथ ग्रहणमा भने सहभागी गराएको थिएन । चौधरीले शपथ ग्रहण गर्न पाऊँ भन्दै संसद् सचिवालयमा निवेदन भने पठाएका थिए ।

संसद् सचिवालयका प्रवक्ता डा। भरतरात गौतमले भने यसबारे स्पष्ट गरेनन् । उनले भने, ‘जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको जानकारी सचिवालयमा पठाएको तर निर्वाचित भएको कारण नामावली निर्वाचनमा पठाइएको हो।’

चौधरीको नाम मतदातामा रहेपछि राष्ट्रपतिको निर्वाचनमा ५२ हजार ५ सय १ जना मतदाता भएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा संघीय संसद्का ३ सय ३१ र प्रादेशिक संसद्का ५ सय ४९ जना मतदाता छन् ।

संघीय संसद्मा प्रतिनिधिसभाका २ सय ७५ जना र राष्ट्रियसभाका ५९ सदस्य गरी ३३४ जना छन् । राष्ट्रपति निर्वाचनमा संघीय संसद्को मतभार ७९ छ भने प्रादेशिक संसद्को मतभार ४८ छ । राष्ट्रियसभाका तीन जनाको नाम भने पठाइएको छैन ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभाका ३ जनाले शपथ ग्रहण नगरेका कारण उनीहरुको नाम नपठाइएको हो । राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत भएका डा.युवराज खतिवडा, रामनारायण बिडारी, विमला पौडेलले मतदाता नामावलीमा नाम नभएपछि राष्ट्रियसभाका मतदाता ५६ जना मात्रै हुने भएका छन् ।
यसबाट संघीय संसद्मा मतदान गर्नेको संख्या ३३१ हुने भएको छ।

प्रादेशिक संसद्मा प्रदेश ४ बाट निर्वाचित दीपक मनाङेबाहेक सबै मतदाता रहेका छन् । मनाङेविरुद्ध फौजदारी अभियोग लागेकाले उनी फरार छन् । उनलाई प्रहरीले फरार सूचीमा राखेको छ । राष्ट्रपतिको निर्वाचन कार्यक्रमअनुसार बुधबार उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्य भएपछि बुधबार नै उमेदवारको दाबी विरोधमा उजुरी दिने समय निर्धारण गरिनेछ।

शुक्रबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने समय निर्धारण गरिनेछ । उम्मेदवारको नामावली फिर्ता लिनका लागि पनि शुक्रबार नै समय निर्धारण गरिएको छ । शुक्रबार उम्मेदवारको नामावली प्रकाशन गरेपछि २९ गते मतदान हुनेछ ।

संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था छ । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट राष्ट्रपतिको निर्वाचन हुनेछ ।